धनगढी पुगेर ओलीले भनेः आँखा नझिमक्याई मतपेटिका हेरिरन्छौं

0
Shares

हेमन्त पौडेल, धनगढी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चुनावमा धाँदली गरेर भएपनि जित्ने षड्यन्त्रमा लागेको बताउनुभएको छ । निर्वाचन हुनुभन्दा दुई दिन अघि क्षेत्रका एआईजी र केही सिडिओ परिवर्तन गरेर निर्वाचन प्रभावित पार्नसकिन्छकी भन्ने ध्यानमा सरकार लागेको उहाँको भनाई छ । निर्वाचन परिचालन कमिटी क्षेत्रनं ५ को आयोजनामा शुक्रवार धनगढीमा भएको जनसभालाई सम्बोधन गर्दा एमाले अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

सरकारले धाँदली गरेर चुनाव जित्छु भन्ने सोचेको छ भने त्यस्तो सपना नदेखेहुन्छ अध्यक्ष ओलीले भन्नुभयो ‘मत गणना नसकिँदासम्म मतपेटिका आँखा नचिम्लिएर हेरिरन्छौ ।’ एउटाले आँखा चिम्लिँदा अर्कोले हेर्ने ब्यवस्था गरेका छौ उहाँले भन्नुभयो । निर्वाचन आचार संहिता उल्लंघन गर्दै देउवा सरकारले मनपरि हिसावले कर्मचारी चलाएकोमा आक्रोश पोख्दै एमाले अध्यक्ष ओलीले नियम कानुन र संविधान सम्मवत चल्ने कर्मचारीतन्त्रलाई दुई दिने सरकारले आचार संहिता विपरित चलाएको आरोप लगाउनुभयो । नेपालमा लोकतन्त्रकालागि निरंकुशताका लागि लड्यौं राजतन्त्रका विरुद्ध लड्यौं तर नेपाली काँग्रेसले बामपन्थी विरुद्ध कुप्रचार गर्दैै बामपन्थी सरकार आएमा अधिनायकवाद आउँछ भन्दै जनतामा भ्रम छर्ने काम गरेको बताउनुभयो । ओलीले विगतलाई सम्झँदै भन्नुभयो आच्छौं खायौँ बाच्छौं खायौं झुसे बारुलो ।
बामपन्थी गठबन्धन निर्वाचन आचारसंहिता पालना गरिरहेको र निर्वाचनलाई प्रदुषित हुन नदिने बताउँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले आफूहरुले नचाँहिदो नगर्ने र गरेको पनि नसहने आफूहरुको नीति रहेको स्पष्ट पार्नुभयो । उहाँले यस क्षेत्रमा थारु र पहाडीहरुलाई लडाएर आफूहरुले फाइदा लिने सोचमा थिए तर बाम गठबन्धनले उनीहरुको सपना चकनाचुर पारेको बताउनुभयो । दुई समुदायलाई जुधाएर फाइदा लिने योजनामा रहेका ठगहरुको निद हराम भएको प्रसंग उहाँले उल्लेख गर्नुभयो । निर्वाचन अघि प्राविधिक कारणलेमात्र पार्टी एकता नभएको स्पष्ट पार्दै एमाले अध्यक्ष ओलीले निर्वाचन लगत्तै पार्टी एकता हुने बताउनुभयो । अहिले पनि दुवै पार्टीले साझा घोषणापत्रमा निर्वाचन लडेको बताउँदै ओलीले पार्टी एकतामा कुनै शंका नगर्न आग्रह गर्नुभयो ।

यस्तै चुनावी सभालाई सम्बोधन गर्नेक्रममा नेपाली काँग्रेसका तर्पmबाट कैलाली क्षेत्रनं ५ का उम्मेदवार आरजु देउवाप्रति टिप्पणी गर्दै ओलीले एक झोला पैसा बोकेर घर किन्दैमा कोही पनि स्थानीय उम्मेदवार हुन नसक्ने बताएका छन् । देउवाका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानालाई भोट माग्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘ काठमाडौंबाट केही केही मान्छे पैसाको थैला बोकेर म त यहीँको भएँ नि भन्दै घर घरेडी किन्दै आएका छन् । यहाँको हुन एक झोला पैसाले घर किन्दैमा हुन्छ ?’ ‘मान्छे देखेको छैन, घर देखेको छ । अनि आफ्नो मान्छे भयो ? अघि थपे, ‘अलि अस्ति आएको भए पनि हुन्थ्यो नि !

‘धन्नै हो कांग्रेसको लोकतन्त्र’ भन्दै ओलीले भने, ‘माथितिर श्रीमान, तल श्रीमती, छोरा अलि सानो छ । नत्र भने छोरा पनि (उम्मेदवार) हुन्थे । हाम्रो काम अरुलाई बोक्ने मात्र । ‘ यहाँका थारुले जित्नु हुन्न ? काठमाडौंबाटै आउनु पर्छ भन्दै ओलीले १०४ वर्ष शासन गरेका राणाका छोराछोरीहरुको जिब्रोका स्वद अझै नगएको टिप्पणी गर्नुभयो । वाम गठबन्धनका उम्मेवार नारदमुनी यहीँको धुलामाटोमा खेलेर हुर्किएको र जितेपनि हारेपनि त्यही रहने तर, अरु फर्किने हो कि होइन थाहा नभएको उनले बताए ।

सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने कार्यक्रम रहेपनि कारणवस उहाँ नआएपछि माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सभालाई सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै नेता बादलले बामपन्थीको एकता हुने भएपछि प्रतिगामीहरुको कित्तामा भूकम्प गएको बताउनुभयो । राजनीतिक स्थिरताले मुलुकको विकासमा सहयोग पुग्ने धारणा उहाँले राख्नुभयो । कम्युनिष्टले मात्र देशको

रक्षागर्न सक्ने भएकाले यस पटकको निर्वाचनमा कम्युनिष्टलाई बहुमत दिनुपर्ने भनाई बादलको छ । एमालेका उपाध्यक्ष भीम रावलले बामपन्थीहरुको एकता केवल चुनाव जित्नकालागि मात्र नभई देशलाई सम्बृद्ध बनाउन भएको बताउनुभयो । बर्तमान सरकारले सरकारी ढुकुटी बाँडेर चुनाव प्रचार गरेको आरोप लगाउनुभयो ।

कार्यक्रममा माओवादी नेता तथा क्षेत्रनं ४ का उम्मेदवार लेखराज भट्ट, एमालेका केन्द्रीय सदस्य तथा क्षेत्रनं ५ का उम्मेदवार नारदमुनी राना, एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीले बोल्नुभएको थियो ।

एमाले अध्यक्ष ओली सहितका नेता रामबहादुर थापा र नेता भीम रावलले कञ्चनपुरको महेन्द्रनगर र कैलालीको लम्कीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।