कलाकार टोली लेक लागेर प्रभावित

0
Shares

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे बुझाउन लागिपरेका कलाकार लेक लागेर प्रभावित भएका छन्। बुधबार गोरखाको रंगकला समूह मनाङका कलाकार नेसाङ गाउँपालिकास्थित मनाङमा नाटक मञ्चन गर्न जाँदा उच्च हिमाल, वनफुरको वासना र चिसोका कारण लेक लागेर प्रभावित भए। समूहकी कलाकार सीमा विकलाई लेक लागेर गाह्रो भएपछि आकस्मिक उच्च हिमाली उद्धार टोलीले मनाङबाट उद्धार गरेर उपचारमा लैजानुपरेको तथा बाँकी कलाकारमा पनि लेकको समस्या देखिएपछि अक्सिजन लिएर केही समय आराम गरेपछि नाटक मञ्चन गरिएको नाटक मञ्चको जिम्मा लिएको सांस्कृतिक संस्थानले जानकारी गराएको छ।

बुधबार नै ताप्लेजुङको हाम्रो थिएटर समूहले महादान नामक सो नाटक मञ्चन गर्ने क्रममा नेपाली र लिम्बु दुवै भाषाका दर्शक जम्मा भएकाले स्थानीयको मागअनुसार दुवै भाषामा नाटक मञ्चन गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराए।

त्यस्तै स्थानीय भर्याङ नाट्य समूहले नाटक मञ्चन गर्ने क्रममा सवारीसाधनका लागि सडक नभएकाले सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विकट पहाडी गाउँहरुमा एक सातादेखि आफ्नो सामल, खाजा र ओढ्ने ओछ्याउने बोकेर बास बस्दै नाटक मञ्चन गरिरहेको छ। नाटकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणाले आम मानिसमा छाएको अन्योलतालाई चिर्ने प्रयास गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई एकसाथ भोट कसरी दिने, कति वटा मतपत्रमा कति छाप कसरी लगाउने? भन्ने जस्ता प्रश्नको जवाफ यतिबेला सबैले सडक नाटक महादानमार्फत पाइरहेका छन्। नाटकले मुलकको पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन शिक्षा बाँडिरहेको छ।

पहिलो चरणका लागि निर्वाचन घोषणा भएका क्षेत्रमा २० नाट्य टोलीले नाटकमार्फत निर्वाचन शिक्षा बाँडिरहेका छन्। यसै क्रममा बुधबार ५ प्रदेशमा निर्वाचन अयोगद्वारा सञ्चालन गरिएको मतदाता शिक्षा नाटक महादान मञ्चन गरिएको छ।