फेरि वाम गठबन्धमा फर्किए दर्लामी

0
Shares

विमल विष्ट, डोटी
नेपाली कांग्रेसका नेता कृष्ण दर्लामी वाम गठबन्धनमा फर्किएका छन्। एमाले पृष्ठभूमिका नेता दर्लामी संघीय समाजवादीको जिल्ला अध्यक्ष हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनी माओवादी केन्द्रसँगको वाम गठबन्धनमा प्रवेश गरेका हुन्। डोटीको दीपायलमा वाम गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँ गठबन्धनमा प्रवेश गर्नुभएको हो। नेपाली कांग्रेस डोटीबाट समानुपातिक उम्मेदवारका आकांक्षी कृष्ण दर्लामी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका केन्द्रीय सदस्य डम्मर ऐर वाम गठबन्धनमा प्रवेश गरेका छन्।

नेताद्वयका साथमा करिब ३ सयभन्दा बढी वाम गठबन्धनमा प्रवेश गरेको वाम गठबन्धनले जानकारी दिएको छ। दीपायलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दर्लामीले भावुक हुँदै भन्नुभयो– ‘नेपाली कांग्रेसले जनजातिका भावना समेट्न सकेन, यस कारण कांग्रेस छोड्न बाध्य भएँ, हामी लोकतान्त्रिक शक्ति हौं, जनजातिका मुद्दा समेट्छौं भने, अन्तमा हामी जनजातिलाई हेर्ने नजर फरक पाएँ।’

उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट टीका लगाई कांग्रेस प्रवेश गरेका थिए। अन्ततः वाम शक्तिहरू एकठाउँमा उभिएकाले आफू वाम गठबन्धनमा प्रवेश गरेको दर्लामीले बताउनुभयो।

त्यस्तै आफू कक्षा ६ पढ्दै गर्दा अखिल छैटौंको राजनीति शुरू गरेको स्मरण गर्दै अखिल छैटौंबाट वाम गठबन्धनमा प्रवेश गरेको विद्यार्थी नेता ऐरले बताउनुभयो। उहाँले भन्नुभयो –‘म सानै उमेरदेखि जनमोर्चाको समर्थक थिएँ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धको कुरा उठ्दा जनमोर्चाभित्र हामीले पनि गठबन्धनमा सहभागी हुन दबाब दियौं।

तर, जनमोर्चाभित्र यो सम्भावना नदेखेपछि आफू वाम गठबन्धनलाई जिताउनका लागि गठबन्धनमा प्रवेश गरेको हुँ।’ वाम गठबन्धन प्रवेश गरेका कृष्ण दर्लामी, डम्मर ऐरले वाम गठबन्धनलाई विजयी गराउन आफूहरू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँहरूलाई वाम गठबन्धनका डोटी निर्वाचन क्षेत्र ‘ख’ का प्रदेशसभा उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य त्रिलोचन भट्ट, एमालेका समानुपातिक उम्मेदवार पूर्णा जोशी, माओवादी केन्द्रका समानुपातिक उम्मेदवार शिवसिं ओलीलगायतले अबिर फूलमालाले स्वागत गरेका थिए।