भूकम्पपीडितको बस्तीमा खानेपानी

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुर नगरपालिका ८ च्यामासिंहस्थित लिवालीमा सम्पन्न भएको आकाशेपानी संकलन प्रणालीको उद्घाटन गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लिवाली गणेश भूकम्पपीडित पुनःस्थापना केन्द्रको बस्तीका लागि निर्माण गरेको उक्त प्रणालीको उद्घाटन गर्नुभयो।

गुठी नामक संस्थाको रु. १७ लाख ४ हजार ३७० आर्थिक सहयोग, ८ लाखबराबरको स्थानीय जनश्रमदान र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको ७ लाख ५० हजारको सहयोगमा उक्त प्रणाली निर्माण सम्पन्न भएको गुठीका संयोजक प्रकाश अमात्यले बताउनुभयो।
आकाशे पानी संकलन गरेर १ लाख लिटरको ट्याङ्की निर्माण गरेर खानेपानी बोर्डले स्थापना गरिदिएको फिल्टर प्लान्टमार्फत् पानीलाई शुद्धीकरण गरेर पानी पिउन योग्य बनाएर वितरण गर्ने गरी व्यवस्थापन गरिएको बोर्डका निर्देशक राजिव जोशीले जानकारी दिनुभयो।

भूकम्पपीडित बस्तीका ३० वटा टहराको छानोबाट आउने आकाशे पानीलाई संकलन गरेर ट्याङ्कीमा पानी जम्मा गर्ने र पानी नपर्ने मौसममा बस्तीमा रहेको इनारको पानी तानेर ट्याङ्कीमा जम्मा गरेर बस्तीमा दैनिक पानी वितरण गर्ने व्यवस्था गरिएको भूकम्पपीडित पुनःस्थापना केन्द्रका अध्यक्ष नारायणप्रसाद खाईतुले बताउनुभयो।
बस्तीमा ३ वटा धारा स्थापना गरिएको छ। पानी वितरण भूकम्पपीडितको ६० घर परिवार र स्थानीय ९० घरपरिवार गरी १५० घरपरिवार लाभान्वित हुने भएका छन्। भक्तपुरमै पहिलोपटक आकाशेपानी संकलन केन्द्र निर्माण गरी समुदायमा खानेपानीको व्यवस्था गरिएको हो।

केन्द्रको उद्घाटनपछि यस क्षेत्रका घरमा खानेपानी वितरण पनि शुरु भएको छ।खानेपानीको चरम अभाव रहेको लिवालीमा अब खानेपानीको समस्या केही हद्सम्म समाधान हुने आशा स्थानीयले लिएका छन्। काठमाडौं महानगरपालिकाले आकाशेपानी संकलन प्रवद्र्धन गर्न नक्सा पास गर्दा वार्षिक करमा छुट दिने निर्णयसमेत गरेको छ। यस्तो नीति ललितपुर महानगरपालिका र उपत्यकाका अधिकांश नगरपालिकाले अवलम्वन गरेपनि कार्यान्वयन हुन सकेको छैन।

उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका नयाँ नगरपालिकामा आकाशेपानी संकलन कार्यलाई कार्यान्वयनमा ल्याउन एकदमै चुनौती रहेको भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बतउनुभयो। नगरपालिका क्षेत्रमा आकाशेपानी संकलनमा देखिएको चुनौती पहिल्याइ आगामी दिनमा यसलाई सहज गर्ने वातावरण मिलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो।
आकाशेपानी संकलन गर्न सके ८० प्रतिशत पानीको जोहो हुने नेपाल रेनवाटर हार्भेस्टिङ एलाइन्समा समेत कार्यरत अमात्यले बताउनुभयो। यसका लागि कौसी वा छाना सफा राखे पुग्ने र जडानका लागि खासै खर्च नहुने पनि अमात्यले जानकारी दिनुभयो। आकाशबाट पानी परेपछि करिब १५ मिनेट ट्याङ्कीबाहिर फाल्ने र त्यसपछि भित्र हाले शुद्ध हुने उहाँको भनाइ छ। सरकारले आकाशेपानी संकलनको नीति ल्याए पनि लगातार जमिनमुनिको पानी निकाले जमिन भासिने र पानीको तहसमेत घट्ने भन्दै सरकारले यो योजना लागू गर्न खोजे पनि सफल हुन सकेको छैन।