राजेशपायललाई सम्मानमाथि सम्मान

0
Shares

 

केही अघिमात्र अमेरिकी राज्यमा महत्त्वपूर्ण सम्मानबाट सम्मानित गायक राजेशपायल राईलाई सोही अवसरमा राजधानीमा सम्मान गरिएको छ। अमेरिकाको रोचेस्टर सिटीमा इन्टरनेसनल पपस्टारको उपाधिबाट सम्मानित भएर नेपाल फर्केको अवसरमा सेवा रेकर्डिङ स्टुडियोले मंगलबार उनलाई सम्मान गरेको छ।

राजधानीमा अनामनगरस्थित स्टुडियोमै आयोजित एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटाले राईलाई सम्मान गरेका हुन्। ‘यो राजेशपायलको लगनशीलता र परिश्रमको फल हो। भर्सटायल स्वर र सरल स्वभावका राजेशपायललाई अमेरिकामा गरिएको सम्मानलाई राष्ट्रले गर्वका रूपमा लिनुपर्छ’ –बासकोटाले भने। लोक संस्कृतिविद् पूर्ण नेपालीले नेपालमा मात्र नभई विदेशमा पनि राई इज किङको नामलाई यो उपाधिले थप मद्दत गरेको चर्चा गरे। गायक राईले यो आफ्नो मात्र सम्मान नभई सिंगो नेपाल र नेपालीको सम्मान भएको बताए। त्यसै गरी प्रस्तोता समाज नेपालका अध्यक्ष गायक तुलसी पराजुली र स्टुडियोका सञ्चालक तथा गायक भूषण मुकारुङले पनि बधाई ज्ञापन गरे।

केहीअघि अमेरिकाको रोचेस्टरस्थित रोचेस्टर सिटी हलमा आयोजित कार्यक्रममा उनलाई रोचेस्टर शहरकी मेयर लभ्ली वारेन तथा उपमयेर डा. कार्डिक एल अलेक्जेन्डरले प्रमाणपत्रसहित सम्मान गरेका थिए। यस सम्मानपश्चात् रोचेस्टरमा प्रत्येक वर्ष नोभेम्बर ५ लाई राई इज किङ डेको रूपमा मनाइनेछ।

जुन २०१४ मा नेपालीभाषी भुटानी समुदायको निमन्त्रणामा उनी पहिलोपटक अमेरिका पुगेका थिए। त्यसपछि भने उनी वर्षेनि कन्सर्टका लागि अमेरिका आउने–जाने गरिरहेका छन्। यसपटक पनि नेपालीभाषी भुटानी समुदायकै निमन्त्रणामा त्यहाँ पुगेका उनले पोर्टल्यान्ड, न्युहामसायर, न्युयोर्क र आफू सम्मानित शहर गरी पाँच ठाउँमा कन्सर्ट गरेका थिए।