नगमा मिस युनिभर्समा भिड्दै

0
Shares

 

मिस नेपाल युनिभर्स २०१७ नगमा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै पहिलोपटक मिस युनिभर्समा स्पर्धा गरिरहेकी छिन्। नगमा हाल अमेरिकाको लास भेगासमा रहेर मिस युनिभर्सको विभिन्न राउन्डका लागि तयारी गरिरहेकी छिन्। उनले यो अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई जिताउन भोट गर्न आग्रह गरेकी छिन्।

मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिका अनुसार मिस युनिभर्समा नेपालका तर्फबाट यो पहिलो सहभागिता हो। नगमाले भने आफ्नो मेहनतलाई सफल पार्न भोट निकै आवश्यक रहेको बताएकी छिन्। मिस युनिभर्स २०१७ मा सामेल विभिन्न देशका सुन्दरीलाई जिताउन भोट गत नोभेम्बर २० देखि नै शुरू गरिएको छ।

उनलाई जो–कोहीले आफ्नो जिमेल एकाउन्ट लग इन गरेर दिनमा १० भोटसम्म गर्न सक्नेछन् भने ट्विटरमार्फत पनि भोट गर्न सकिने व्यवस्था छ। नगमाले नोभेम्बर २६ मा हुने मिस युनिभर्स २०१७ को फाइनलमा नेपालको संस्कृति झल्किने भेषभूषामा आफूलाई प्रस्तुत गर्ने बताएकी छिन्। ‘नेपालको प्रतिनिधित्व गर्दै पहिलोपटक यस प्रतियोगितामा सामेल हुन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु। साथै दायित्वबोध पनि गरेकी छु। यसैले गर्दा पनि मिस नेपाल युनिभर्स घोषणा भएसँगै मैले आफूलाई तयार गर्न विभिन्न प्रशिक्षण पनि लिएकी छु, नगमाले भनेकी छिन्– ‘तर मेरो यी सबै मेहनतलाई सफल पार्न तपाईंको भोट पनि अमूल्य छ। त्यसैले मलाई भोट गर्नुहुन आग्रह गर्दछु। तपाईंको भोट र मेरो मेहनतले नै हामीलाई सफलता दिलाउनेछ।’