दाहालको श्रद्धाञ्जली सभामा गाउँदागाउँदै जनवादी गायक पाख्रिनको निधन

0
Shares

नेकपा माओवादी केन्द्रका पूर्वसांसद तथा जनगायक खुसीराम पाख्रिनको मंगलबार चितवनमा निधन भएको छ।

गत आइतबार निधन भएका माओवादीका पोलिटब्युरो सदस्य तथा माओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको चितवनमा आयोजित श्रद्धाञ्जली सभा तथा चुनावी सभामा गीत गाउने क्रममा बेहोस भएर ढलेपछि उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको उनको अस्पतालमा पुर्याउँदा निधन भइसकेको चिकित्सकले बताए। चिकित्सकहरुले पाख्रिनलाई मस्तिश्कघात भएको बताए।

३५ वर्षदेखि ५ सय बढी जनवादी गीत लेख्दै आएका पाख्रिनले सयभन्दा बढी गीत गाएका छन्। मायाप्रीतिभन्दा जनवादी गीतमा जीवन्तता हुने भएकाले गाउने गरेको बताउने पाख्रिनले सगरमाथाको काखमा नेपाल देश छ भन्ने बोलको गीतबाट जनवादी गीत लेख्न शुरू गरेका थिए। त्यसैको सम्मान स्वरूप माओवादीले उनलाई सभासद् बनाएको थियो। डाँडाकाँडा फुटालेर बाटो बनायो, के पायो नि कुल्ली दाइले ड्राइभरले टइक्सी गुडायो बोलको ०३८ सालमा लेखिएको उनको चर्चितमध्येको एक गीत हो। त्यसै गरी कालो वनको बीचैमा खेतालाको गाउँ, हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाउ पनि मन पराइएको थियो भने लाल झुपडीका मान्छेहरु, न्यायपूर्ण युद्धको लहर, रक्त क्रान्तिको बेला हो यो, लड्दै छौं मुक्ति युद्ध बोलका उनका जनवादी गीत चलेका छन्। भरतपुर महानगरपालिका–११ का उनी २००९ सालमा जन्मेका थिए। पाख्रिन सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत थिए।