अध्यक्षहरुलाई जिताउन उम्मेदवारी स्थगन

0
Shares

हेटौंडा, (नेस) । नयाँ शक्ति पार्टी मकवानपुरका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार प्रह्लाद लामिछानेको उम्मेदवारी स्थगन भएको छ । नयाँ शक्ति र राप्रपाबीच सोमबार भएको केन्द्रीय सहमतिअनुसार गोरखामा राप्रपाले नयाँ शक्ति अध्यक्ष डा. बाबुराम भट्टराई तथा मकवानपुरमा नयाँ शक्तिले राप्रपा अध्यक्ष कमल थापालाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका तर्फबाट मकवानपुर–३ मा  १८ हजार ५ सय १४ मत प्राप्त गरी विजयी भएर हाल नयाँ शक्तिका केन्द्रीय सदस्य तथा मकवानपुर संयोजक लामिछानेले उम्मेदवारी दर्ताको १९ दिनपछि केन्द्रीय सहमति तथा अपिलअनुसार उम्मेदवारी छाडेर कमल थापालाई समर्थन गर्नुपर्ने भएको छ ।नयाँ शक्तिका उम्मेदार लामिछानेले आफूलाई उक्त विषयमा जानकारी आएको बताउनुभयो ।

तालमेल नौलो नभए पनि आकस्मिक भएको लामिछानेको भनाइ छ । तालमेलको जानकारी पाएपछि सोमबार नै काठमाडौं दौडिनुभएको  लामिछानेले थापालाई के र कसरी सहयोग गर्ने भन्ने विषयमा राप्रपा मकवानपुरसँगको बैठकपछि निक्र्यौल हुने बताउनुभयो । ‘पार्टीसँग सल्लाह गरी धारणा बनाइनेछ,’ उहाँले भन्नुभयो ।यस विषयमा आगामी शनिबार राप्रपासँग बैठक बसिने लामिछानेले बताउनुभयो । केन्द्रीय सम्झौतापत्रमा राप्रपा उपाध्यक्ष वुद्धिमान तामाङ तथा नयाँ शक्तिका राजनीतिक संवाद समिति संयोजक देवीप्रसाद ओझाले हस्ताक्षर गर्नुभएको छ ।नयाँ शक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एकअर्काका अध्यक्षलाई चुनाबमा समर्थन गर्ने भएका हुन् । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा चुनाबमा दुई दलले गोरखा र मकवानपुरमा अर्को पार्टीका उम्मेदवारलाई सघाउने भएका हुन् ।सोमबार दुई पार्टीबीच गोरखा–२ मा नयाँ शक्तिका संयोजक डा. भट्टराईलाई राप्रपाले सहयोग गर्ने सहमति हुँदा मकवानपुर–१ मा राप्रपा अध्यक्ष थापालाई सघाउन नयाँ शक्तिले उम्मेदवारी स्थगन गर्ने निर्णय गरेको छ । दुवै नेता काँग्रेसको समर्थनमा उम्मेदवार बन्नुभएको हो ।