प्रहरीद्वारा स्वास्थ्य शिविर

0
Shares

 

भक्तपुर, (नेस)
१२औं महानगरीय प्रहरी दिवस २०७४ को अवसरमा महानगरीय प्रहरी परिसर भक्तपुरद्वारा आयोजित बृहत् स्वास्थ्य शिविरमा सर्वसाधरण भीड लाग्यो। महेश्वर खेल मैदानमा आयोजित शिविरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

बृहत् स्वास्थ्य शिविर र रक्तदान कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, पत्रकार, नागरिक समाज, प्रहरी कर्मचारीलगायत करिव १ हजारको सहभागिता रहेको थियो। प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न विधामा महिला २ सय ५२ जना र पुरुष २ सय ९० जना गरी कुल ५ सय ४२ जनाले स्वास्थ्य परीक्षण गरिएको थियो। सोही क्रममा बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको परिसर प्रमुख एसपी किरण राणाले बताउनुभयो।

शिविरकै अवसरमा महिला २७ र पुरुष ९७ जना गरी १ सय २४ जनाले रक्तदान गरेका थिए। प्रहरी उपरीक्षक किरण राणाका अनुसार, शिविरमा फिजिसियन, बालरोग, आँखा, नाक, कान, घाँटी, स्त्रीरोग, हाडजोनी, सर्जरी, डेन्टल, छाला, मानसिक परामर्शसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो।

शिविरमा नेपाल प्रहरी अस्पताल, ज्योति विकास वचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर अस्पताल, जिल्ला जनस्वास्थ्य अस्पताल कार्यालय, रेडक्रस सोसाइटी भक्तपुर, मध्यपुर अस्पताल ठिमी, डा. इवामुरा अस्पताल, नागरिक कम्युनिटी टिचिङ अस्पताल, नेपाल–कोरियामैत्री अस्पताल, सिद्धि स्मृति अस्पताललगायतका अस्पतालले सेवा प्रदान गरेका थिए।