नवराज पहाडी, लमजुङ
पहिलो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि लमजुङको निर्वाचनमा दुई गठबन्धन लोकतान्त्रिक र वामका बीच कडा प्रतिस्पर्धा हुने भएको छ। अन्य सानादलहरूले पनि तिनलाई पछ्याउँदै चुनावी दौडमा लागेका छन्।
लमजुङलाई कांग्रेसको किल्ला मानिन्छ। तर, स्थानीय तहको निर्वाचनमा कांग्रेसले नसोचेको ‘हारको मार’ खेप्यो भने वाम गठनबन्धन त्यो सफलतापछि उत्साहित भएको छ। त्यसो त २०६४ सालको संविधानसभा निर्वाचनदेखि कांग्रेसले पराजय भोग्न थालेको हो। त्यसअघि २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा कांग्रेसले जित हासिल गरीआएको थियो। २०६४ सालको निर्वाचनमा दुवै क्षेत्र गुमाएको कांग्रेसले ०७० मा भए क्षेत्र नं. २ मा जित हासिल गरी राहतको अनुभूति गरेको थियो। हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पनि यहाँ नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरी निर्वाचन लडेर उत्साहजनक सफलता हासिल गरेको स्थिति छ। आठ स्थानीय तह रहेको लमजुङमा नगरपालिका र गाउँपालिकाको संख्या ४–४ छ। तीमध्ये एक गाउँपालिकामा मात्र कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित बहुमत, एक नगरपालिकामा प्रमुखसहित बहुमत र एक नगरपालिकामा उपप्रमुखसहित बहुमत स्थान जितेको छ। एमालेले एक गाउँपालिका र एक नगरपालिकामा प्रमुख, उपप्रमुखसहित बहुसंख्यक स्थान जितेको छ भने एक गाउँपालिका अध्यक्षसहित सुविधाजनक बहुमतमा र अर्को एक पाउँपालिकामा उपाध्यक्षसहित बहुमतमा रहेको छ। एक नगरपालिकामा प्रमुख पद मात्र एमालेले जित्न सफल भएको छ। माओवादी केन्द्रले एक गाउँपालिकामा अध्यक्ष र एक गाउँपालिकामा उपाध्यक्षसहित केही स्थान जितेको छ। स्थानीय तहका कुल ७५ वडामध्ये ३६ वडामा नेकपा एमाले, ३४ वडामा नेपाली कांग्रेस र ५ वडामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ।
जिल्ला समन्वय समिति गठनमा एमालेको एकल बहुमत हुने स्थिति थियो तर एक सदस्य पद माओवादीलाई दिएर अन्य सबै पदमा एमालेले निर्विरोध जित हासिल गरेको छ। कांग्रेसले जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारीसमेत दिने हिम्मत गरेन। यस स्थितिबाट पनि वाम गठबन्धन बढी उत्साहित देखिएको अवस्था छ।
जिल्लामा कांग्रेसको धरातल राम्रो हुँदाहुँदै पनि नेतृत्व वर्गमा देखिएको अपरिपक्वता, आपसमा चल्ने गरेका अन्तरद्वन्द्व, अन्तरघात तथा आफूलाई मात्र ठीक देख्ने प्रवृत्ति क्रम २०४८ सालबाटै शुरु भएको हो। त्यो शृंखला स्थानीय तह निर्वाचनसम्म कांग्रेसमा छताछुल्ल हुँदै आएको मस्र्याङ्दी बहुमुखी क्याम्पसका पूर्वउपप्राध्यापक रमाराज खनियाले बताउनुभयो। उहाँका अनुसार त्यसै कारणले कांग्रेसको कमजोर उपस्थिति देखिन गएको हो। त्यो गुटगतसहितका सबै कमजोरीलाई पछिल्लो चरणमा देउवा र पौडेल गुटमा परिणत भई आ–आफू सुरक्षित हुन पुगेको स्थिति बन्यो। तर, यसपटको निर्वाचनमा त्यो सबै कमजोरीलाई सच्याउँदै कांग्रेस बिग्रने तयारीमा जुटेको देखिन्छ भन्नुहुन्छ सोही क्याम्पसका अर्का उपप्रध्यापक शालिग्राम अधिकारी।
तर, यसपटकको टिकट बाँडफाँडमा कांग्रेसका दुवै पक्ष सन्तुष्ट देखिएका छन् र निर्वाचनमा पनि सबै खुलेर लागि परेको देखिएको छ। यसैले निर्वाचन परिणाम कांग्रेसका लागि सुखद हुनसक्ने देखिएको अधिकारीको आँकलन छ। कांग्रेसले प्रतिनिधिसभाका लागि पूर्वकेन्द्रय सदस्य दिलबहादुर घर्ती तथा प्रदेशसभाका लागि ‘क’ बाट महासमिति सदस्य गर्जबहादुर गुरुङ र प्रदेश ‘ख’ बाट पूर्वजिल्ला सभापति कृष्णप्रसाद कोइरालालाई उम्मेदवार बनाएको छ।
यसै गरी, वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्र, केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङ चुनावी मैदानमा हुनुहुन्छ। प्रदेश सभाको ‘क’ क्षेत्रबाट एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडी र क्षेत्र नं. ‘ख’ बाट केन्द्रीय सचिव एवं संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङलाई उम्मेदवार बन्नुभएको छ।
पृथ्वीसुब्बा, देवप्रसाद गुरुङ तथा एमालेका जिल्ला अध्यक्षलाई टक्कर दिने व्यक्तित्व नै रहेन त्यसैले चुनावी रौनक नै आएन भन्दै वाम गठबन्धनको सोह्रैआना जित्ने आँकलन आफ्नो रहेको बताउनुहुन्छ पर्यटन व्यवसायी राधेश्याम श्रेष्ठ। प्रदेशको मुख्यमन्त्री (पृथ्वीसुब्बा) केन्द्रको मन्त्री (देवप्रसाद गुरुङ) लमजुङले कहिले पाएको थियो र ? यस्तो मौका गुमाउने ? भन्दै वाम गठबन्धनका उम्मेदवारका सामु अरू फुच्चे भएको उहाँका तर्क छ।
तर, केन्द्रस्तर र जिल्लास्तरमा नेताहरु मिलेको भए तापनि स्थानीयस्तरमा द्वन्द्वकालमा माओवादीबाट सताइएका एमाले समर्थकहरू माओवादीलाई भोट दिन तयार नभएको समेत बताउने गरेको बताइन्छ। त्यो हल्लासँगै कतिपय माओवादीसमेत एमालेलाई भोट नहाल्ने मनस्थितिमा पुगेको पनि स्रोतको भनाइ छ।
लोकतान्त्रिक र वाम गठबन्धनबाहेक जिल्लामा अन्य आठ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन्। राजनीतिक दलहरूमा नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, विवेकशील साझा पार्टी, जन समाजवादी पार्टीले पनि चुनावी चलहपहल बढाइरहेको अवस्था छ। जनसमाजवादी पार्टीले आफ्नो दललाई नेकपा माले, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीको समर्थन रहेको बताएको छ। सो दलले केही दिनअघि सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मालेबाहेकका दलका प्रतिनिधिहरू पनि सहभागी थिए।
प्रतिनिधिसभाका प्रत्यासी नयाँ शक्तिका देवेन्द्र पराजुली केन्द्रीय नेता हुनुहुन्छ भने संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य खेमजंग गुरुङ पनि जुझारु व्यक्तित्वका धनी मानिनुहुन्छ। उहाँले हामी यसैपटक जित्छौं त भन्दैनौं तर हाम्रो क्रियाशीलताले जित्छु भन्नेहरू प्रभावित हुन सक्छन् भन्ने तर्क गर्नुहुन्छ। विगतमा पराजुली र गुरुङ दुवै वामपन्थी माओवादी र एमाले निकट व्यक्तित्व हुनुभएको हुँदा उहाँले पाउनुहुने मत वाम गठबन्धनको हुने देखिन्छ। त्यस्तै जन समाजवादी पार्टीले प्रचार सामग्रीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठसहित कम्युनिस्टका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेताहरू माक्र्सदेखि माओसम्मका फोटो राखेर आफूहरू कम्युनिस्ट भएको दाबी गर्दै प्रचारमा जुटिरहेका छन्। उनीहरूले वाम गठबन्धन देश र जनताको हितमा नभएको पत्रकार सम्मेलनमा समेत उल्लेख गरेबाट सो दलले पाउने मत पनि वाम घटककै कटौती हुने देखिन्छ। लमजुङमा नेकपा मालेको जिल्ला संगठन छैन तर पनि समानुपातिकमा उक्त दलले सम्मानजनक मत पाउँदै आएको स्थिति छ। त्यसले मालेसँग गठबन्धन गरेको जनसमाजवादी पार्टी उत्साहित देखिएको छ। वाम गठबन्धनले निर्वाचनपछि पृथ्वीसुब्बा गुरुङ प्रदेशको मुख्यमन्त्री र देवप्रसाद गुरुङ केन्द्रको मन्त्री हुने हुँदा जिल्लाबासीले निःसर्त मत दिनुपर्ने भन्दै चुनाव जित्ने दाबी गर्दै आएको छ। जिल्लाको विकास र समृद्धिका लागि आफ्नो जित हुनुपर्ने वाम गठबन्धनको दाबी छ।
तर, पृथ्वीसुब्बा गुरुङले पहिलो संविधानसभामा क–कसको नेता बनेर बाहुनलाई काशी र क्षत्रीलाई फाँसी दिने उद्घोष गर्ने नेताका रूपमा चिनिएको तथा पर्यटन मन्त्री हुँदासमेत जिल्लाले पाउनुपर्ने पर्यटन रोयल्टीको एक पैसा पनि ल्याउन नसक्ने नेताको के काम ? भन्नेहरू पनि बग्रेल्ती नै भेटिन्छन्। यसैले पृथ्वीसुब्बाका लागि यो चुनाव पनि फलामको च्यूरा हुनसक्ने आँकलन छ। उहाँ पञ्चायतकाल २०४३ सालदेखि लगातार चुनाव लड्नुभएर पनि २०६४ सालमा मात्र जित हासिल गर्नुभएको थियो।
लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले मन्त्री पद भनेको प्राविधिक कुरा हो, आफूले त्यस्ता पद पाए पनि नपाए पनि जिल्लाबासीको सेवामा लागिरहने बताएका छन्। उनीहरूले लमजुङ कांग्रेसको किल्ला भएको र त्यसलाई यो निर्वाचनमा पुनःस्थापित गर्नैपर्नेमा जोड दिँदै कांग्रेसले हार्दा लोकतन्त्रसमेत खतरामा पर्नसक्ने हुँदा आफूहरूले जित्नै पर्ने बताउँदै आएका छन्। ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नाराका साथ कांग्रेस चुनावी मैदानमा उत्रिएको छ। स्थानीय तहको मत परिणामअनुसार सबै स्थानीय तहबाट प्रमुखहरूले पाएको मतलाई आधारमा हेर्ने हो भने वाम गठबन्धन १ हजार २ सय ९६ मतले अघि देखिन्छ। स्थानीय तह निर्वाचनमा वाम गठबन्धनको ३३ हजार ६ सय ३३ मत र नेपाली कांग्रेसले ३२ हजार ३ सय ३७ मत प्राप्त गरेको छ। सोबाहेक प्रमुख पदमा अन्य दलहरुको एकमुष्ठ ३ हजार ८ सय ६८ मत आएको थियो। स्थानीय तहको निर्वाचनमा सुन्दरबजार नगरपालिकामा कांग्रेसका वागी उम्मेदवार द्वारिका मिश्रले नै २ हजार ७ सय ३० मत ल्याएका थिए। प्रतिनिधिसभा निर्वाचनमा सो मत कांग्रेसमा थपिएमा अन्य मतबाहेक नेपाली कांग्रेस वाम गठबन्धनभन्दा १ हजार ४ सय ३४ मतले अगाडि हुनसक्ने देखिन्छ।
यसै गरी, पछिल्लो संविधानसभा निर्वाचन मत परिणामअनुसार पनि लमजुङको चुनावी प्रतिस्पर्धा कडा देखिन्छ। दोस्रो संविधानसभाको निर्वाचन दुई निर्वाचन क्षेत्रमा एकमा एमाले र दुईमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए। त्यस समयको मत परिणामअनुसार जिल्लामा नेपाली कांग्रेसको २५ हजार १ सय ७६ मत ल्याएको छ। नेकपा एमालेको मत २५ हजार ४ सय दुई रहेको छ। सोही निर्वाचनमा तत्कालीन एनेकपा माओवादीले ११ हजार ६ सय ५० मत पाएको थियो। करिव ४ हजार मत ल्याएको राप्रपासहित अन्य दलहरुको मत ५ हजार ५ सयको हाराहारीमा रहेको थियो। तत्कालीन राप्रपा हाल लोकतान्त्रिक गठबन्धनमा सामेल भएको छ, त्यसले पनि चुनावी प्रतिस्पर्धा कडा प्रतिस्पर्धा देखिन गएको हो।
स्थानीय तह निर्वाचनको तुलनामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ९ हजार ४ सय ५७ नयाँ मतदाता थपिएका छन्। सम्पन्न स्थानीय तह निर्वाचनमा १ लाख ५ हजार ९ सय ९२ मतदाता रहेका थिए। हाल थपिएका मतदातासमेतको संख्या गरी १ लाख १५ हजार ४ सय ४९ जना पुगेका छन्। थपिएका मतदाता पनि निर्णायक हुनसक्ने आँकलन गरिएको छ।
वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङ २६ वर्षपछि पुनः भोट माग्दै हुनुहुन्छ। गुरुङ यसअघि २०४८ सालमा निर्वाचन क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रिनुभएको थियो। त्यो बेलामा उहाँ तत्कालीन माले र नेकपा मसाल सम्मिलित वाम गठबन्धनका साझा उम्मेदवार बन्नुभएको थियो। सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र अधिकारीसँग प्रतिस्पर्धा गर्नुभएको थियो।
गृहजिल्ला मनाङ भए पनि मामाघर लमजुङमा भएकाले आफू लमजुङमै हुर्की बढेको, पढेको र यहाँको भूगोलसँग मावली साइनो रहेको बताउँदै गुरुङले मतदाताको मन पगाल्न लाग्नुभएको छ। संविधानसभा सदस्य एवं सांसद बनेर एकपटक स्थानीय विकासमन्त्री र अर्कोपटक कानुनमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभवले लमजुङको भूमिका आफ्नो गृहजिल्ला जत्तिकै रहेको गुरुङको दाबी छ।
प्रतिनिधिसभाका लागि कांग्रेसका उम्मेदवार दिलबहादुर घर्ती मुलुकको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा लाग्दा पञ्चायतकालमा सर्वस्व हरण भई पटक–पटक जेलनेल परेका त्यागी एवं जुझारु व्यक्तित्वसमेत हुनुहुन्छ। उहाँले कांग्रेसले हार्दा लोकतन्त्र खतरामा पर्ने भएको हुँदा पनि कांग्रेसले चुनाव जित्नै पर्ने दाबी गर्नुभएको छ।
जे होस् लमजुङको निर्वाचनमा अन्य दलहरूले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धामा भने लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारबीचमा नै हुने भएको आम बुझाइ रहेको छ।
प्रतिक्रिया