दक्षिणतर्फ भाग्ने उत्तर कोरियाली सैनिक सिकिस्त


सोल, (एजेन्सी)
दक्षिण कोरियाली सेनाले सोमबार अत्यन्तै कडा सुरक्षा प्रबन्ध गरिएको असैनिक क्षेत्रबाट एक जना उत्तर कोरियाली सैनिक दक्षिण कोरियातर्फ भागेर आएको बताएको छ।

पान्मुन्जोम गाउँस्थित संयुक्त सुरक्षा क्षेत्रबाट सीमापार गरेर दक्षिण कोरियातर्फ जाँदै गरेका ती सैनिकलाई आफ्नै सेनाले गोली हानी घाइते बनाएको सोलले जनाएको छ।

असैनिक क्षेत्रबाट प्रवेश गरेका ती सैनिकमाथि आफ्नै सहकर्मीहरूले ४० राउन्ड गोली प्रहार गरेको र उनलाई ५ वटा गोली लागेको बताइएको छ।

ती भगौडा सैनिकलाई उपचारका लागि दक्षिण कोरियाको अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थस्थिति चिन्ताजनक रहेको छ। संयुक्त सुरक्षा क्षेत्रसम्म गाडीमै आएका उनको गाडीको एउटा पांग्रा खुकुलो भएकाले उनले बाँकी यात्रा हिँडेरै तय गर्नुपरेको सोलले जनाएको छ। हरेक वर्ष करिव १ हजार जना उत्तरबाट दक्षिण कोरियातर्फ भाग्ने गर्दछन्।

तर, असैनिक क्षेत्रबाट भने कमै मात्र भाग्ने गरेका छन्। विगत ३ वर्षभित्र उक्त क्षेत्रबाट दक्षिण कोरिया प्रवेश गर्ने यिनी चौथो उत्तर कोरियाली सैनिक हुन्। सन् १९५३ को कोरियाली युद्ध कुनै औपचारिक शान्ति सम्झौतामा नभई युद्ध विराममा मात्र टुंगिएकाले उत्तर र दक्षिण कोरिया अझै प्राविधिकरूपमा युद्धरत रहेको मानिन्छ।
सोलले कोरियाली युद्ध टुंगिएयता ३० हजारभन्दा बढी उत्तर कोरियाली भागेर दक्षिण पुगिसकेको जनाएको छ। दक्षिण कोरियाली रक्षामन्त्री सोºङ योङ मूले संयुक्त सुरक्षा क्षेत्रको दक्षिणको भागमा उत्तर कोरियाली सैनिकलाई गोली हानिएको यो पहिलो घटना भएको विधायकहरूलाई जानकारी गराएका छन्।

केही विधायकहरूले यसबाट कतै दुई देशबीचको युद्धविराम सम्झौता उल्लंघन त भएन भनी प्रश्न गरेको योन्हाप न्युज एजेन्सीले जनाएको छ। यसैबीच सोमबार उत्तर कोरियातर्फ प्रवेश गर्ने प्रयासमा रहेका एक जना अमेरिकीलाई पक्राउ गरिएको पनि योन्हापले जनाएको छ। नाम नखुलाइएका ती ५८ वर्षीय अमेरिकीले नागरिक नियन्त्रण रेखापार गर्न खोजेको र यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।