“चिनियाँ अवधारणामा नेपाल ट्रान्जिट प्वाइन्ट बन्न सक्छ”

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
छिमेकी मुलुक चीनले अघि सारेको ‘एक क्षेत्रः एक मार्ग’ (बेल्ट एन्ड रोड) को अवधारणाले नेपालसहितका मुलुकलाई प्रत्यक्ष फाइदा पुग्ने यसका जानकारको भनाइ छ। सो परियोजनाबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार र लगानीमा उल्लेख्य वृद्धि हुने विज्ञहरूको तर्क छ।

नेपाल–चीनमैत्री मञ्चले सोमबार आयोजना गरेको ‘दक्षिण एसियाका निम्ति मार्ग र क्षेत्र प्रयासको संरचना’ विषयक अन्तरक्रियाका वक्ताले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपाल–चीनबीचको स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन यसै वर्ष पूरा हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा दुवै मुलुकको आर्थिक र व्यापारिक सम्बन्ध फराकिलो बन्ने बताउनुभयो।
उहाँले भन्नुभयो– ‘बेल्ट एन्ड रोड’ अवधारणाले नेपाललाई भू–परिवेष्ठित मुलुकबाट भू–परिवहनयुक्त मुलुक बनाउन सघाउनेछ, यसले व्यापार तथा परिवहनलाई विविधीकरण गर्नेछ।’

एक–अर्को मुलुकबीचको पूर्वाधार विकाससहित व्यापार, लगानी, प्रसारण लाइन, पारवहनजस्ता पक्षको ढोका खुला हुने राजदूत यूले विश्वास व्यक्त गर्नुभयो।

चीनको महत्त्वाकांक्षी यो परियोजनाले एसिया र युरोपका ५ दर्जनभन्दा बढी मुलुकलाई जोड्नेछ। सो परियोजनाको शुरुआतदेखि नै खुलेर समर्थन जनाएको नेपालले गत वैशाखमा समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ।

सोही कार्यक्रमका अर्का वक्ता अर्थसचिव शंकरप्रसाद अधिकारीले चिनियाँ परियोजनाले हिमालयपार रेल तथा सडक परियोजना, भौतिक पूर्वाधार विकास, लगानी तथा व्यापार प्रवद्र्धनका साथै व्यापार विविधीकरणमा सहयोग पुग्ने भएकाले नेपालले ठूलो लाभ लिने विश्वास व्यक्त गर्नुभयो।

सो परियोजना कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् नेपालमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्दै मुलुकले छिट्टै आर्थिक समृद्धि हासिल गर्ने धारणा राख्नुभयो।

कार्यक्रमका अन्य वक्ताले नेपाल ‘बेल्ट एन्ड रोड’ अवधारणाको ‘ट्रान्जिट पोइन्ट’ का रूपमा रहने सक्ने सम्भावना औंल्याए। कार्यक्रमको दोस्रो सत्रमा कार्यपत्र प्रस्तुत गर्दै पूर्व राजदूत डा. शंकर शर्मा, भारतीय प्राध्यापक प्रविर दी, चिनियाँ प्राध्यापक सच्हाङ ही, बंगलादेशका प्राध्यापक अतिउर रहमानलगायतले चिनियाँ अवधारणाले एसिया र युरोपसम्म ठूलो प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो।

कार्यपत्र प्रस्तोताले ‘बेल्ट एन्ड रोड’ अवधारणालाई परिणाममुखी बनाउन पूर्वाधार विकासमा जोड दिएका थिए।