पाँच वर्षमा सुनसरीका सबै मोटर बाटो कालोपत्रेः गच्छदार

0
Shares

 

नेपाल समाचारपत्र
सुनसरी
नेपाली कांग्रेसका नेता तथा उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले ५ वर्षभित्र सुनसरीका सबै बाटो कालोपत्रे गरिने बताउनुभएको छ। धरानमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री गच्छदारले सो कुरा बताउनुभएको हो।

उहाँले मुलुकमा संविधानसभाबाट संविधान जारी भएसँगै राजनीतिक व्यवस्थाको टुंगो लागेको हुनाले अब मुलुक सुशासन र विकासको मार्गमा अगाडि बढ्ने उल्लेख गर्नुभयो। उहाँले अब विकास निर्माण र जनताको जीवनस्तर सुधारका लागि काम गर्ने बेला आएको बताउनुभयो।

मन्त्री गच्छदारले सुनसरीको क्षेत्र नम्बर ३ सहित सबै बाटो कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। वहाँले ४७ वर्ष सक्रिय राजनीतिमै बिताएको र २०४८ सालदेखि नियमित रूपमा सुनसरीको क्षेत्र नम्बर ३ बाट पाँचौपटक जितिसकेको बताउनुभयो। यस क्षेत्रका जनताको अपार माया पाएकाले आसन्न निर्वाचनमा ठूलो मतान्तरले विजयी बन्ने विश्वास व्यक्त गर्दै उहाँले आउँदो ५ वर्षमा देशमा कायापलट गर्न सकिने बताउनुभयो।
सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका मन्त्री गच्छदारले यस क्षेत्रको माटो र पानीसँग आफ्नो नाता गाँसिएको बताउनुभयो। शुक्रबार राष्ट्रिय जनता पार्टी नेपालका किसान संघका केन्द्रीय अध्यक्ष सुरैत यादवसहित सयौं नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति २ सुनसरीले सदरमुकाम इनरुवामा आयोजना गरेको प्रतिनीधि तथा प्रदेशसभा निर्वाचनको विषयमा छलफल कार्यक्रममा राजपा नेपालका किसान संघका केन्द्रीय अध्यक्षसहित सयौ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।