निर्वाचन अभियानमा डोटी वाम गठबन्धन


 

विमल विष्ट, डोटी

आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि डोटीको ‘वाम गठबन्धन’ टिम मंगलबारदेखि कार्य क्षेत्रमा होमिएको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र डोटीको कात्तिक १९ गते सम्पन्न जिल्ला कमिटी स्तरीय संयुक्त बैठकको निर्णयअनुसार कात्तिक २१ गतेदेखि २५ गतेभित्र जिल्लाका सबै स्थानीय तहहरुमा संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम मंगलबार पूर्वीचौकी गाउँपालिका र केआई सिंह गाउँपालिकास्तरीय संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ।

पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा आयोजना भएको उक्त संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेलालाई एमाले डोटी इन्चार्ज एवं वाम गठबन्धन डोटीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रेम आलेमगर, एमाले डोटी अध्यक्ष एवं वाम गठबन्धन डोटीका प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ बाट सदस्य पदका उम्मेदवार चक्र मल्ल, माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्यद्वय छवि ओली र भरत बोहरालगायतका नेताहरुले सम्बोधन गरेका छन्।

यस्तै केआई सिंह गाउँपालिकामा आयोजना भएको संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेलालाई नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं वाम गठबन्धन डोटीका प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘ख’ बाट सदस्य पदका उम्मेदवार त्रिलोचन भट्ट, प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘ख’ बाट एमालेबाट समानुपातिक उम्मेदवार पूर्णा जोशी र माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार शिवसिं ओली, एमाले नेता यज्ञराज जोशी, मोओवादी केन्द्रका नेता शिद्धराज भाटलगायतले सम्बोधन गरेको वाम गठबन्धन डोटीको टिमले जनाएको छ।

त्यस्तै कात्तिक २२ गते शिखर नगरपालिकास्तरीय संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको एमाले डोटी अध्यक्ष एवं प्रदेशसभा प्रत्यक्षतर्फका उम्मेदवार चक्र मल्लले जानकारी दिनुभयो। त्यस्तै निर्वाचन क्षेत्र नं. ‘क’ मा कात्तिक २३ गते दीपायल सिलगढी नगरपालिकामा, कात्तिक २४ गते आदर्श गाउँपालिका र कात्तिक २५ गते सायल गाउँपालिकामा उक्त कार्यक्रम आयोजना गर्ने तय गरेको छ। उता, निर्वाचन क्षेत्र नं. ‘ख’ मा कात्तिक २३ गते जोरायल गाउँपालिकामा कात्तिक २४ गते बडिकेदार गाउँपालिका र कात्तिक २५ गते बोगटान गाउँपालिकामा उक्त कार्यक्रम आयोजना गर्ने तय गरेको छ। संयुक्त बैठक तथा अगुवा कार्यकर्ता भेलाबाट स्थानीय तहका वडाहरुमा प्रचारप्रसार र आवश्यक अन्य तयारीका लागि जिम्मेवारी बाँडफाँड गरिने पनि वाम गठबन्धन टिमले जनाएको छ। स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मतका आधारमा जित सुनिश्चत रहेको वाम गठबन्धनको दाबी रहेको छ। त्यस्तै नेपाली कांग्रेसले पनि आफ्नो चुनावी आमसभा तथा कार्यक्रमको तयारी गरिरहेको छ। पर्चा पम्पलेट तथा अन्य विभिन्न सामग्रीहरु आउन ढिलाइ भएकाले आफ्ना कार्यक्रमका बारे सार्वजनिक गर्न ढिलाइ भएको सो पार्टीले जनाएको छ।