नेता गाउँ पसे, किसानलाई धान थन्क्याउने चटारो

0
Shares

शालिकराम चालिसे, नुवाकोट
आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको चुनावका लागि नुवाकोट दलहरूले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन्। मतदातालाई आफ्नो पक्षमा लिएर उम्मेदवारलाई विजयी गराउन जिल्लाका मुख्य दलका नेता कार्यकर्तालाई भ्याइनभ्याई छ।

वाम तथा लोकतान्त्रिक गठबन्धनसहित उम्मेदवारहरू प्रचारप्रसारका लागि मतदाताको घर दैलोसम्म पुगिरहेका छन्। जिल्लाका मुख्य प्रतिस्पर्धा वाम तथा लोकतान्त्रिक गठबन्धनसँग भइरहेको छ। गठबन्धनका उम्मेदवार र जिल्लाका नेता पनि प्रचारप्रसारका लागि गाउँ पसेका छन्। नुवाकोटका प्रत्येक टोल गाउँका सर्वसाधारण किसानलाई भने अहिले वर्षभरि खेती गरेर फलाएको धान बाली भित्त्याउने चटारो परेको छ।

यतिबेला नुवाकोट जिल्लाभर कृषकलाई धान थन्क्याउने र विभिन्न बाली लगाउने चटारो परेको किस्पाङ गाउँपालिका–२, ताजीका किसान हरि फुयालले भने । ‘चुनाव आयो रे, नेताहरू गाउँ–गाउँमा डुल्न थालिसके’, उनी भन्छन्– ‘हामीलाई धान भित्त्याउन चटारो छ, उनीहरूलाई मतदाता आफ्नो पक्षमा पार्ने चटारो।’

प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि नुवाकोटमा पहिलो चरणमा मंसिर १० गते आइतबार चुनाव हुँदैछ। मतदान गर्ने दिन आउन अब २० दिन मात्रै बाँकी छ। तर, गाउँका किसानलाई चुनावले छोएको छैन। कतिपय किसान खेती सम्हाल्नमै व्यस्त रहे पनि आफ्ना पीडा बुझिदिने नेताले जितोस् भन्ने कामना गरिरहेका छन्। यो याममा जिल्लाका किसान धानबाली भित्त्याउन र गहुँ छर्ने, आलु लगाउने, विभिन्न तरकारी लगाउने काममा व्यस्त छन्।

चुनावअघि नै घरको काम सक्ने र मनपर्ने दलका कार्यक्रममा सहभागी हुने धेरै किसानको धोको छ। गत वैशाख ३१ मा भएको स्थानीय चुनावमा किसान खेतीपाती छाडेरै भए पनि चुनावमा सक्रिय बनेका थिए। अहिले भने किसानले कम चासो लिएका छन्। ‘पार्टीका पछि लागे पेट केले भर्ने ?’, सूर्यगढी गाउँपालिका–५ का रामबहादुर गिरी भन्छन्– ‘मानो रोपेर
मुरी भित्त्याउने यो बेला हामीलाई चुनावभन्दा खेतीपाती नै प्यारो छ।’ ‘मताधिकार त छँदैछ, गाउँसमाजको विकास र जनताको हितमा लाग्ने उम्मेदवारलाई सघाउनु पर्ला’ –उनले आफ्नो मनको बह पोखे। किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्त्याउने यो बेला अहिले मुख्य समय हो। त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन्। पार्टीहरूले कृषिप्रधान देशको नामअनुसार किसानका हितमा काम नगरेको उनीहरूको गुनासो छ।

त्यसो त दलहरूले काममा लागेका किसानको खेतबारीमै पुगेर पार्टीबारे प्रचारप्रसार गर्दै मत माग्न थालिसकेका छन्। दलहरूले जिल्लादेखि वडा, टोलस्तरमा समेत प्रचारप्रसार समितिहरू निर्माण गरेर धमाधम चुनाव प्रचारप्रसार थालेका छन्।

कतिपय कृषकलाई अहिलेको प्रदेश तथा संघीय चुनाव के हो ? भन्ने कुरा नै जानकारी छैन। अहिलेसम्म गाउँगाउँमा मतदाता शिक्षा नपुगेका कारण पनि कृषक रनभुल्ल परेको बेलकोटका बासु कडुवाल बताउँछन्। स्थानीय तहमा भोट हालेपछि यति चाँडै मत दिनुपर्दैन भन्ने बुझेकाहरूले प्रतिनिधि र प्रदेशसभा चुनावमा कसरी मतदान गर्ने भन्ने अन्योल देखिएको उनको भनाइ छ।

निर्वाचनका लागि मात्र २० दिन बाँकी रहँदासम्म मतदाता शिक्षा कार्यक्रम शुरू नभएकाले त्यो प्रभावकारी नहुने निश्चित छ। नमुना मतपत्रसमेत अझै नआउँदा गाउँघरको चुनावीसभामा नमुना मतपत्र लैजान नपाइएको उम्मेदवारहरूले बताएका छन्।