निर्वाचन भयरहित बनाउन प्रहरीलाई निर्देशन

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
गृहसचिव मोहनकृष्ण सापकोटाले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुको साथै प्रहरी कर्मचारीलाई मुलुकको सुरक्षा कायम राख्न निर्देशन दिनुभएको छ।

गृहसचिव सापकोटाले नेपाल प्रहरीले हिमाल, पहाड, तराईका अप्ठेरा ठाउँहरुमा रहेर काम गर्दै राज्यको तर्फबाट गरेको त्याग, तपस्या र कर्तव्यपालनाको प्रशंसा गर्नुभयो। राज्यको आवश्यकताअनुसार नै नेपाल प्रहरीको विकास हुँदै आएको चर्चा गर्दै गृहसचिव सापकोटाले संघीयतालगायत बदलिँदो परिस्थितिमा परिवर्तनलाई आत्मसात गर्दै नीतिगत सुधार, ऐन कानुन परिमार्जन, क्षमता विकास, साधन स्रोत व्यवस्थापन गर्दै सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र तयार भएको अवस्थामा सरकारको नीतिअनुसार सुरक्षा प्रदान गर्ने कार्यमा लाग्न निर्देशन दिँदै गृहसचिव सापकोटाले अपराध नियन्त्रण, भयमुक्त समाजको निर्माण, नागरिकलाई सुरक्षाको अनुभूति दिलाउँदै प्रहरीको छवीलाई अझै राम्रो बनाउनुपर्ने उल्लेख गर्नुभयो।
उक्त अवसरमा प्रहरी प्रधान कार्यालयको तर्फबाट नेपाल प्रहरीको प्रशासनिक एवं समसामयिक गतिविधिको प्रस्तुतीकरण गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षाका बारेमा विस्तृत जानकारी दिनुभयो।

सो क्रममा प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको संरचना, मानव स्रोत व्यवस्थापन, प्रहरी इकाइगत सञ्जाल, कार्यगत समूह, प्रहरी तालिमको स्थिति तथा कार्ययोजनाबारे जानकारी दिनुभयो। अपराध अनुसन्धानसम्बन्धी महत्त्वपूर्ण तथ्यहरु, देशभरको त्रिवर्षीय अपराध तथ्यांक, अपराध अनुसन्धानका विशिष्टिकृत एकाइहरु, प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय अपराध अनुसन्धान, प्रहरी मेरो साथी, वस्तुगत तथा वैज्ञानिक अनुसन्धानका प्रयास र उपलब्धि एवं भावी योजनाका बारेमा समेत उहाँले विस्तृत चर्चा गर्नुभयो।