नयाँ आइल्यान्ड बनाउँदै महानगरपालिका


ईश्वरराज ढकाल, काठमाडौं
राजधानीमा एक साताभित्र ५ वटा आइल्यान्ड निर्माण हुने भएको छ। काठमाडौं महानगरपालिकाले शहरको सौन्दर्य कायम गर्न उक्त आइल्यान्ड निर्माण गर्न लागेको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ५ वटा आइल्यान्डको निर्माण शुरू भइसकेको जानकारी दिनुभयो। राजधानीका न्युरोड, सुन्धारा, रत्नपार्क, जमल र टंकेश्वर गरी पाँच स्थानमा आइल्यान्ड निर्माण शुरू गरेको हो। मेयर शाक्यले यो वर्षभित्र करिब १० वटा पार्क र आइल्यान्ड निर्माण गरिने जानकारी दिनुभयो। कामपाको वातावरण व्यवस्थापन विभागले शनिबारदेखि आइल्यान्ड निर्माण शुरू गरेको हो। कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले राजधानीको सौन्दर्यलाई चिनाउने आइल्यान्ड निर्माण गर्न शुरू गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘पहिलो चरणमा ५ स्थानमा आइल्यान्ड निर्माण गर्ने निर्णय गरेका छौं, अन्य स्थानको विषयमा अध्ययन भइरहेको छ।’

कामपाले शंखपार्क, ह्युमत, इन्द्रायणी, स्वयम्भुलगायतका ५ स्थानमा थप नयाँ आइल्यान्ड निर्माण गर्ने तयारी गरेको छ। मेयर शाक्यले सबै स्थानमा धमाधम निर्माणकार्य शुरू गरिने जानकारी गराउँदै राजधानीलाई हरितनगरी बनाउने परिकल्पनासहित आइल्यान्ड निर्माणको काम शुरू गरिएको बताउनुभयो। मेयर शाक्यले राजधानीको सौन्दर्य बिग्रिएको गुनासो बढ्न थालेपछि पहिलो चरणमा आइल्यान्ड निर्माण गर्न लागिएको जानकारी दिनुभयो।

अबको एक वर्षभित्र राजधानीका एक दर्जनभन्दा बढी स्थानमा आइल्यान्ड र नयाँ पार्क निर्माण गरिने जानकारी दिनुभयो। कामपाले राजधानीको हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत ५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ।

हाल आइल्यान्ड निर्माण गर्ने पाँच स्थानमा डिजाइन सम्पन्न भइसकेको छ। विभागले सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत निर्माण गर्न लागेको जानकारी गराउँदै विभागीय प्रमुख श्रेष्ठले साझेदारी नभएको स्थानमा आफैंले आइल्यान्ड निर्माण गर्न लागेको बताउनुभयो। हाल निर्माण शुरू गरिएको आइल्यान्ड ५ देखि १० लाख रुपियाँ लाग्नेछ। विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशालासम्म बेगमबेली फूल लगाउने भएको छ।

यो वर्ष हरियाली नभएको राजधानीको सबै स्थानमा फूल र विभिन्न जातको वृक्षारोपण गर्ने तयारी गरेको छ। अधिकांश स्थान हरियाली भैसकेका छन् बाँकी स्थानमा यसै वर्ष वृक्षारोपाण गर्नेछौं –विभागीय प्रमुख श्रेष्ठले भन्नुभयो। यो वर्ष बजेटको अभाव छैन नयाँ स्थानको समेत पहिचान गरी वृक्षारोपण गर्ने योजना बनाएका छौं–उहाँले भन्नुभयो। कामपाले हाल संचालनमा रहेका सबै पार्कलाई समेत थप व्यवस्थित गर्ने
भएको छ।

रत्नपार्कलाई व्यवस्थित गरी शसुल्क बनाएपछि सोही मोडलमा शंकपार्कलाई समेत व्यवस्थित गर्ने योजना अघि बढाएको छ। हाल कामपाले रत्नपार्क र बालाजुपार्कमा प्रवेश गर्दा शुल्क लिने गरेको छ।