आजदेखि निर्वाचन अनुगमन


नेपाल समाचारपत्र
काठमाडौं
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमन गर्न सचिव र सहसचिवहरूको टोली सोमबार खटिने भएको छ।

जिल्लामा आचार संहिता पालना भए⁄नभएको सूक्ष्म अनुगमन गर्न सो टोली खट्न लागेको हो। अनुगमन टोलीमा एक जना उप–महालेखापरीक्षक र सहसचिवहरू गरी ३७ जना रहने भएका छन्।

अनुगमन टोलीको बिहीबार भएको अभिमुखीकरणमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचार संहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई कडाइका साथ कारबाही गर्न पनि निर्देशन दिनुभयो।

उहाँले विकट भौगोलिक अवस्था, चिसो मौसम तथा सञ्चार सम्पर्क हुन नसक्ने जस्ता व्यवधानहरूको उचित व्यवस्थापन गर्न सरोकारवाला सबै पक्षसँग समन्वय एवं सहकार्य गरेर काम गर्न पनि निर्देशन दिनुभयो। प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन सञ्चालनका क्रममा तथा निर्वाचन आचार संहिता पालनाका क्रममा आउन सक्ने व्यवधानलाई पूर्वानुमान गरी रोकथामका उपायहरू अवलम्बन गर्नसमेत निर्देशन दिनुभयो।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन, कम खर्चिलो बनाउन, राज्यको स्रोतको दुरुपयोग हुन नदिन टोलीले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

उहाँले राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताबीच हुन सक्ने द्वन्द्वलाई रोक्न निर्वाचन आचार संहिता जारी गरिएको हुँदा सबै सरोकारवालाले निर्वाचन आचार संहिता पालना गर्न आवश्यक रहेको बताउनुभयो।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले अनुगमनका क्रममा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलगायतसँग आवश्यक समन्वयको भूमिका निर्वाह गर्नसमेत आग्रह गर्नुभयो।