शीर्ष मधेसी नेता बागीले हैरान



 

काठमाडौं, (नेस)
आगामी मंसिर २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनमा मधेसवादी दलका शीर्ष नेता नै बागी उम्मेदवारबाट हैरान भएका छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध नै बागी उम्मेदवार खडा भएको छ।

फोरमले राजपासँग सहकार्य गरे पनि राजपाका सहमहामन्त्री जयप्रकाश गुप्ताले सप्तरी २ मा फोरम अध्यक्ष यादवविरुद्ध उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभाका उम्मेदवार यादव छन् भने सोही क्षेत्रमा प्रदेशसभाका लागि फोरमबाट शैलेन्द्र साह र राजपाका महासचिव मनीष सुमन छन्।

त्यस्तै, राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध पनि बागी उम्मेदवारी परेको छ। ठाकुरविरुद्ध राजपाकै निर्वतमान सांसद चन्देश्वर झाले उम्मेदवारी दिएका छन्। महोत्तरी ३ बाट प्रतिनिधिसभामा मनोनयन दर्ता गराएका ठाकुरविरुद्ध यसअघि सोही क्षेत्रबाट स्वतन्त्ररूपमा निर्वाचित झाले मनोनयन दर्ता गरएका छन्। झा निर्वाचनअघि मात्र राजपामा प्रवेश गरेका थिए।

यता राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाविरुद्ध फोरमका नेता एवं पूर्वसांसद बबन सिंहले उम्मेदवारी दिएका छन्। रौतहट १ बाट झाविरुद्ध सिंहले मनोनयन दर्ता गराएका हुन्। अन्य केही स्थानमा राजपाका नेताविरुद्ध फोरमका नेता तथा फोरमका विरुद्ध राजपाका नेताले उम्मेदवारी दिएका छन्।

राजपाका महासचिव मनीष सुमनले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै बागीहरूसँग छलफल हुने बताउनुभयो। उहाँले अधिकांश बागीले मनोनयन फिर्ता गर्ने दाबीसमेत गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्