पक्राउ परेका भारतीयको गतिविधि शंकास्पद



 

काठमाडौं, (नेस)
भारतको पन्जाबबाट हतियारसहित नेपाल प्रवेश गरेका २ भारतीय नागरिकको गतिविधि शंकास्पद देखिएको प्रहरीले जानकारी दिएको छ। कमलादीस्थित ज्याक डेनियल रेस्टुरेन्टमा गोली प्रहारपछि पक्राउ परेका हरबेन्द्र सिंह र जोगिन्द्र सिंहबीच विवाद हुँदा जोगिन्द्रले बोकेको पेस्तोल निकालेर फायर गरेपछि घटना बाहिर आएको थियो।

भारतीय नागरिक जोगिन्द्रले बोकेको पेस्तोल भारत सरकारले इजाजत दिएको हतियार भए पनि उक्त हतियार नेपालमा भने अवैध भएको प्रहरीले जानकारी दिएको छ।

चण्ढीगढबाट नेपाल आएका उनीहरू सुनौली नाकाबाट नेपाल प्रवेश गरेका थिए। सुनौलीनाकाबाट नेपाल प्रवेश गर्दा कुनै पनि ठाउँमा उनीहरूमाथि चेकजाँच नभई राजधानी प्रवेश गरेका थिए। केही दिनको काठमाडौं बसाइपछि पोखरा जाने तयारीमा रहेका उनीहरूको नेपाल भ्रमणको उद्देश्य भने नखुलेको प्रहरीले जानकारी दिएको छ।

उनीहरू कसैको हत्या गर्ने वा नेपालको जासुसी गर्ने किसिमले नेपाल प्रवेश गरेको देखिँदैन नेपाल प्रहरीको विशेष ब्युरोका एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।

ब्युरोले उनीहरूको साथबाट पन्जाव प्रहरीको परिचयपत्र फेला पारेको भए पनि उनीहरू भारतीय सुरक्षाकर्मीसँग कुनै सम्पर्कमा नरहेको र उनीहरूको साथबाट फेला परेको परिचयपत्र पूर्वभारतीय सुरक्षाकर्मीको रहेको पनि ब्युरोका ती अधिकारीले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट १ थान अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोली बरामद गरको थियो। उनीहरू भारतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेको फेला नपरे पनि हतियार लिएर किन नेपाल प्रवेश गरे, त्यसबारेमा अनुसन्धान गरिरहेको ती अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्