कांग्रेस र राजपा–फोरमको गठबन्धन टुट्यो

0
Shares

 

काठमाडौं, (नेस)
आगामी प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) तथा संघीय समाजवादी फोरम नेपालबीच हुने भनिएको गठबन्धन तोडिएको छ।

सिट बाँडफाँडमा सहमति नभएपछि चुनावी तालमेल अन्तिम समयमा आएर विफल भएको राजपाका नेता राजेन्द्र महतोले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। राजपा–फोरम र कांग्रेसको तालमेल विफल भएसँगै लोकतान्त्रिक गठबन्धन पनि विभाजन भएको महतोले दाबी गर्नुभयो।

लोकतान्त्रिक गठबन्धनमार्फत मधेसवादी दलसँग कांग्रेसले तालमेल गर्न खोजेकामा आफूहरू सकारात्मक रहेको तर मनोनयन दर्ताको अन्तिम समयमा तालमेलको प्रयास असफल भएको महतोले बताउनुभयो।

तालमेलका लागि राजपा र कांग्रेस नेताहरूबीच बुधबार भएको अन्तिम छलफलमा धनुषा क्षेत्र नम्बर–३ वा सर्लाही क्षेत्र नम्बर–४ कांग्रेसले छोड्न नमाने पछि तालमेल हुन सकेन। बैठकमा राजपा र कांग्रेसका नेताहरूबीच चर्काचर्कीसमेत भएको थियो। तालमेल नभएपछि राजपा नेता महतो र कांग्रेस नेता विमलेन्द्र निधि धनुषा–३ बाट चुनाव लड्ने भएका छन्।

यता स्रोतका अनुसार राजपाका केही नेताहरूले व्यक्तिगत रूपमा कांग्रेससँग तालमेल गरेका छन्। करिब चारवटा सिटमा राजपाका नेताहरूले कांग्रेससँग तालमेल गरेको जनाइएको छ। यसअघि संघीय समाजवादी फोरमले पनि तालमेल हुन नसकेको भन्दै आफ्ना उम्मेदवारहरूको नामावली सार्वजनिक गरिसकेको छ।