राजधानीमा साना हतियारको बिगबिगी



 

दीपक रिजाल, काठमाडौं
राजधानीको ज्याक डेनियल रेस्टुरेन्टमा २ भारतीय नागरिकबीच विवाद हुँदा बुधबार साँझ गोली चलेको छ। भारतको पन्जाव राज्यबाट काठमाडौं आएका जोगिन्द्र सिंह र हरबेन्द्र सिंहबीच विवाद भएपछि जोगिन्द्र सिंहले गोली फायर गरेका थिए। कमलादीस्थित ज्याक डेनियल रेस्टुरेन्टमा खाएर बसिरहेका दुई जनाबीच विवाद भएपछि गोली चलेको महानगरीय आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो।

उहाँका अनुसार सिंहले गोली आकाशतिर पड्काएको कारण मानवीय क्षति भने हुन पाएन। गोली चलेपछि उक्त रेस्टुरेन्टमा रहेका अन्य ग्राहकहरूको भागाभाग भएको थियो। प्रहरीले सिंहद्वयलाई एउटा अटोमेटिक पेस्तोल र ५२ राउन्ड गोलीसहित पक्राउ गरेको छ।

भारत पन्जावका उनीहरू कसरी हतियारसहित काठमाडौं प्रवेश गरे भन्ने विषयमा छानविन भइरहेको एसएसपी जोशीले जानकारी दिनुभयो। ‘उनीहरू कसरी हतियारसहित काठमाडौं प्रवेश गरे, त्यसको पनि हामी सूक्ष्मरूपमा छानविन गरिरहेका छौं।’ –उहाँले भन्नुभयो।
पछिल्लो समय काठमाडौंको कमजोर सुरक्षाको फाइदा उठाई आपराधिक समूहहरू सक्रिय हुन थालेका छन्। काठमाडौं उपत्यकामा विशेष गरी अमेरिकामा निर्मित पेस्तोल, इटालियन पेस्तोल, चिनियाँ र भारतीय पिस्तोल, सिक्सर रिवोल्भर, २२ क्यालिभर पेस्तोल, नेपालमै बनेका कटुवा जस्ता साना हतियारको प्रयोग बढी हुन थालेको छ। राजधानीमा केही महिनायता साना हतियारको प्रयोग गरी आतंकित बनाउने काम शुरू भएको छ। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएपछि आतंकित भएको राजधानी त्यसको केही दिनपछि म्हैपीमा अर्को गोली चल्यो। गोरखाका कल्याण गुरुङ घाइते भए।

प्रहरीले केही साना हतियार बरामद गरे पनि त्यसको प्रयोगमा भने कमी नआएपछि राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ। नजिकिएको निर्वाचनलाई लक्षित गरी हतियार राजधानी भित्रिन सक्ने आशंका गर्दै प्रहरी प्रधान कार्यालयले राजधानीका तीन जिल्लाका सुरक्षा प्रमुखलाई चनाखो हुन निर्देशन दिए पनि हतियारको प्रयोग बढेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४⁄७५ का तीन महिनामा मात्रै ९ हतियार बरामद भएका छन् भने ३० जना मानिस पक्राउ परेका छन्। कार्यालयका अनुसार बरामद भएका अधिकांश हतियारमा पेस्तोल र रिभल्वर छन्। फिरौती असुलीदेखि ससाना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गएको देखिन्छ।

प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा साना हातहतियारबाट सिर्जित अपराधका घटनामा उल्लेख्य वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७१⁄७२ यताका तीन वर्ष तीन महिनामा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट मात्रै २० थान हतियार र २ सय तीन राउन्ड गोली बरामद भएको कार्यालयको रेकर्ड छ। प्रहरीले यही अवधिमा हतियार प्रयोगमा संलग्न एक सय ६१ जनालाई समेत पक्राउ गरेको छ।
साना हतियारको अत्याधिक प्रयोग हुन थालेपछि प्रहरीले आफ्नो अनुसन्धानलाई तिव्रता दिन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्