राहत शिक्षकद्वारा शिक्षामन्त्रीलाई ज्ञापनपत्र

0
Shares

 

नेपाल समाचारपत्र
कालिकोट
राहत शिक्षकको आन्दोलनमा दुर्गमका राहत शिक्षकहरूले स्थायी र अस्थायी शिक्षकसरह दुर्गम भत्ता र पोसाक भत्ताको माग गर्दै आन्दोलन गर्ने जिल्ला शिक्षा अधिकारीमार्फत् शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्।

कालिकोटमा विभिन्न तहमा अध्यापन गराइरहेका ४४१ जना शिक्षकहरूले ज्ञापनपत्र बुझाएका हुन्। राहत शिक्षकहरूका गुनासा कसैले नसुनेको भन्दै उनीहरूले अब पनि राहत शिक्षकका मागहरू सम्बोधन नभए देशैभर आन्दोलन चर्काउने राहत शिक्षक जिल्ला समिति कालिकोटका अध्यक्ष एलिजा शाहीले बताइन्। ‘कर्णाली अञ्चलको ‘क’ श्रेणीका दुर्गम जिल्लामा पर्दछन्, यस्ता जिल्लामा अध्यापन गराउने राहत शिक्षकहरूलाई वास्ता गरिएको छैन।’ उनले भनिन्,– ‘जिल्लामा धेरै लामो समयदेखि अध्यापन गराइरहेका शिक्षक पनि अहिलेसम्म सेवा सुविधाबाट वञ्चित भएका छन्।’

स्थायी र अस्थायी शिक्षकलाई दुर्गम भत्ता र पोसाक भत्ताको व्यवस्था गरेको गर्ने तर राहत शिक्षकलाई विभेद गरेको भन्दै उनीहरूले समान व्यवहार नभएको शाहीले बताइन्। ‘हामीलाई कुनै पनि सम्मान दिइएको छैन्।’ उनले भनिन्– ‘स्थायी र अस्थायी शिक्षकलाई दुर्गम भत्ता र पोसाक भत्ताको व्यवस्था गर्ने गरेको तर राहत शिक्षकलाई विभेद गरिएको छ।’ जिल्लामा २२९ जना प्राथामिक तह, ६५ जना निम्न माध्यामिक तह, ५० जना माध्यामिक तहका र उच्च माध्यमिक तहमा राहत र अनुदान गरी ९७ जना शिक्षक राहत शिक्षक रहेको जिल्ला शिक्षा कार्यालय कालिकोटले जनाएको छ।

सरकारले २० वर्षदेखि शिक्षा आयोग नखोलेको र १० वर्षदेखि करार राहतमा कोटा नदिएको राहतका शिक्षकका विभिन्न समस्या रहेको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताए। ‘लामो समयदेखि शिक्षा सेवा आयोग खोलेको छैन्।’ उनले भने,–‘राहतका शिक्षकका समस्या धेरै रहेका छन्। त्यसमा मैले आफ्नो ठाउँबाट पहल चालेको छु।’