भन्सार नतिरेको ट्रक पक्राउ प्रकरण – एजेन्टहरू आन्दोलित, राजश्वमा असर

0
Shares

 

एजेन्ट र कर्मचारीको पोल खोलिँदै
कुमार श्रेष्ठ, बाँके
न्सार नतिरी पास भएको भारतीय मालवाहक ट्रक नियन्त्रणमा लिएको विरोधमा भन्सारका एजेन्टहरूले आन्दोलन थालेका छन्। एजेन्टहरूको आन्दोलनका कारण राजश्व असुलीमा ठूलो असर परेको छ।

भारतीय चालकले भन्सार थाहा नपाएर ट्रक अगाडि पुर्याएको एजेन्टहरूको तर्क छ। भन्सार कार्यालयले भने जमुनाहा नाकाबाट नेपालतर्फ छिरेको देखिएको भारतीय युपी ३५ टी ७३०७ नम्बरको ट्रक भन्सारमा इन्ट्री नदेखिएको बताएको छ। भन्सार एजेन्ट समूहका अध्यक्ष दिनेश बनियाले भन्सार कर्मचारी र सुरक्षा अधिकारीहरूले अरु गाडीलाई जसरी उक्त ट्रकलाई किन इन्ट्री गरेनन्, त्यसमा उनीहरूको शतप्रतिशत मिलोमतो रहेको आरोप लगाउनुभयो। भन्सार अधिकृत सुभाष श्रेष्ठले नाकाबाट नेपाल छिर्दा इन्ट्रि भएको ट्रक कहाँबाट चौलिकामा पुगेको अनुसन्धान भइरहेको बताउनुभयो। ‘यो नाकाबाट गएको हो कि होइन भन्न सकिँदैन। भन्सारमा इन्ट्रि छैन,’ –भन्सार अधिकृत श्रेष्ठले भन्नुभयो, जमुनाहाबाट छिरेर अन्यत्र बाटोबाट चौलिक्का पुगेको हो कि ?’

एजेन्टको आन्दोलनले राजश्व असुलीमा ठूलो असर पुगेको छ। दैनिक २ करोड ३० लाख रुपियाँ राजश्व उठाउनुपर्ने नेपालगन्ज भन्सारमा सोमबार ३२ लाख मात्रै संकलन भएको थियो भने मंगलबार १५ वटा गाडी पासको अनुमति दिइएको थियो। जब कि यो नाकाबाट दैनिक औसतमा सयवटा गाडी पास हुन्छन्।

एजेन्टहरूले काम नगरेपछि मंगलबार गाडी या मालसामानका मालिकले आफैंले गएर भन्सार प्रक्रिया अघि बढाएका थिए। ‘काम अलिअलि भएको छ,’ भन्सार अधिकृत श्रेष्ठले भन्नुभयो, एजेन्टले काम गर्दा धेरै असर पर्छ।’ नेपालगन्ज भन्सारमा ६ जना लाइसेन्स प्राप्त एजेन्ट रहेका छन्। एजेन्टको टोली मंगलबार प्रमुख जिल्ला अधिकारीकहाँ पुगेको छ। भारतीय गाडी चालक रहेकाले थाहा नपाएर उसले भन्सारमा इन्ट्रि नगरी अगाडि पुर्याएकाले गाडी र चालकलाई छोडेर मालको वास्तविक मूल्यांकन गरेर भन्सार गराउनुपर्ने बनियाले बताउनुभयो।

भन्सार कार्यालयले भने कानुनी प्रक्रिया अघि बढिसकेकाले आन्दोलन या टाउको नै फुटाए पनि केही नहुने बताएको छ। भन्सारले भन्सार अधिकृत श्रेष्ठकै संयोजकत्वमा छानबिन समितिसमेत बनाएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
एजेन्टहरूले आठ लाख ३२ हजारको सामान रहेको बताएका थिए। प्रहरीले १४ लाखको मूल्यांकन गरेको छ। ६ बजे आसपासमा नेपाल प्रवेश गरेको ट्रक डेढ घण्टापछि चौलिक्कामा कसरी पुग्यो भन्ने सोधीखोजी भइरहेको छ। एक किलोमिटरको दूरी पार गर्न ट्रकलाई डेढ घण्टा लाग्दैन। बीचमा ट्रक कहाँ रोकियो ? खोजीको विषय भएको छ। एकथरीले भन्सार कर्मचारी र एजेन्टहरूकै मिलोमतो बताइरहेका छन्। स्रोतले भने त्यस दिन साँझ भन्सार कर्मचारीहरू धेरै नरहेकाले मौकाको फाइदा उठाएर ट्रक नै पास गराएको बताएको छ।