राजपा र फोरमबीच सिट बाँडफाँडमा सहमति

0
Shares

 

काठमाडौं, (नेस)
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच सिट बाँडफाँडमा सहमति भएको छ।

सातैवटै प्रदेशमा तालमेल गरेर जाने भनिए पनि राजपा र फोरमबीच २ नम्बर प्रदेशका लागि मात्र सहमति भएको छ। सहमतिअनुसार २ नम्बर प्रदेशको प्रतिनिधिसभाको ३२ सिटमध्ये १७ सिट फोरम नेपालको भागमा परेको छ भने १५ सिट राजपाको भागमा परेको छ। त्यस्तै, प्रदेशसभाको ६४ सिटमध्ये ३३ फोरम र ३१ राजपाको भागमा परेको छ।

मंगलबार दिउँसो काठमाडौंको तीनकुनेस्थित कार्यालयमा राजपा र फोरमका नेताहरूबीच सहमतिपत्रमा हस्ताक्षर भएको राजपाका महासचिव मनिष सुमनले नेपाल समाचारपत्रलाई बताउनुभयो। सुमनले प्रत्यक्षतर्फको सिटमा मात्र सहमति भएको बताउनुभयो।

उहाँले समानुपातिकमा आ–आफ्नो दलको प्रचार–प्रसार आफैले गर्ने बताउनुभयो। सुमनका अनुसार प्रत्यक्षमा राजपाको भागमा परेको स्थानमा राजपाको निर्वाचन चिह्न मात्र रहनेछ भने फोरमको भागमा परेको सिटमा फोरमको चुनाव चिह्न मात्र रहनेछ। जसका लागि निर्वाचन आयोगसँग समेत छलफल भएको सुमनले बताउनुभयो। कांग्रेससँग पनि तालमेल भएको खण्डमा दुवै पार्टीले आ–आफ्नो भागमा परेको सिट छोड्ने सहमति भएको सुमनले जानकारी दिनुभयो।