सुरक्षा व्यवस्था अन्तिम चरणमा



 

काठमाडौं, (नेस)
भोलि बिहीबार हुने उम्मेदवार मनोनयन दर्ताको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताइएको छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि भोलि उम्मेदवार मनोनयन दर्ता हुन लागेको हो। त्यसका लागि सुरक्षा तयारी अन्तिम चरणमा पुगेको पनि मंगलबार निर्वाचन आयोगमा बसेको बैठकमा जानकारी गराइयो। बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आगामी निर्वाचनका लागि तयार गरिएको सुरक्षा योजना र त्यसको कार्यान्वयनको तयारीप्रति सन्तोष व्यक्त गर्नुभयो।

दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका १ सय २८ सदस्य र प्रदेशसभातर्फ २ सय ५६ सदस्यको निर्वाचनका लागि बिहीबार उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ। उहाँले समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्णरूपमा सम्पन्न गर्न भरपर्दाे सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायहरूलाई निर्देशन दिनुभयो।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनका लागि तयार गरिएको सुरक्षा योजनालाई त्रुटिरहित ढंगबाट कार्यान्वयन गर्न चारवटै सुरक्षा निकायलाई उच्चस्तरको समन्वय र सम्पर्कमा रही काम गर्न निर्देशन दिनुभयो।

उहाँले जिल्ला तहमा मतदान कार्यमा खटिने कर्मचारीहरूको खटनपटनमा मुख्य⁄निर्वाचन अधिकृत, निर्वाचन अधिकारी र प्रमुख जिल्ला अधिकारीबीचमा सहयोग र समझदारी कायम गरी कार्य सञ्चालन गर्न आयोगले निर्देशन दिइसकेको उल्लेख गर्नुभयो।

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचन आयोगको निर्देशनअनुसार आगामी निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको र आयोगको सुझाव अनुसार सुरक्षा योजनालाई आवश्यक परिमार्जन गरी निर्वाचनमा उच्चस्तरको सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले नेपाल सरकारले दिएको जिम्मेवारीअनुसार अन्य सुरक्षा निकायहरूसँग मिलेर निर्वाचनमा सुरक्षा प्रदान गर्न नेपाली सेना तयार रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्