सामुदायिक विद्यालयका विद्यार्थीहरुको प्रश्नः शौच गर्न कहाँ जाउँ ?

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

विद्यालय भवन नभएर होईन । शिक्षक नभएर पनि होईन । तर नमोबुद्ध नगरपालिका वडा नम्वर ३ मा रहेको कालिका प्रावीमा कक्षा २ देखि ५ सम्मका विद्यार्थीेहरुका लागि एउटै कक्षा प्रयोग हुने गरेको छ ।

कक्षा २ मा ३ जना, कक्षा ३ मा ३ जना, कक्षा ४ मा ५ जना र कक्षा ५ मा ५ जना विद्यार्थी रहेकोमा हिउँदको समयमा इटा पार्न अभिभावकसँगै गएकाले विद्यालयमा उपस्थित हुँदैनन । तिहार पछि विद्यालयमा उपस्थित भएका चारवटा कक्षामा ६ जना विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर शिक्षकहरु पालैपालो पढाउने गरिएको छ ।
पाँच शिक्षक मध्ये एक जनाको राजिनामा, एक जना सरुवा, एक जना विदामा । दुई शिक्षकले शिशु कक्षा र एक कक्षामा समेत हेर्नु पर्ने । विद्यालयको कक्षा कोठा बाख्रा बाँध्ने खोर जस्तो फोहोर ।

विद्यालय हाता भित्र प्रवेश गर्ने वितिक्कै घुँडा घुँडा आउने घाँस । कक्षा कोठा भित्र भाँचिएका बेञ्चहरु । शौचालयमा ढोका नै छैन । पानी छैन । विद्यार्थीहरु शौच गर्न आउँदा घरमै जान्छन् । शिक्षकहरु विद्यालयको छिमेकमा पुग्छन् ।

विद्यालयमा भर्ना भएका कक्षा १ का बुद्ध विक, कक्षा २ कि गंगा परियार, कक्षा ३ का किशोर परियार, सुनिल तामाङ र नवराज परियार, कक्षा ४ का सुदिप तामाङ, मनोज परियार, सिर्जना विक, कक्षा ५ का सिर्जना विक लगायत भट्टामा पुगिसकेका छन् । भर्नाको समयमा ४० कटाउने र शिक्षकको दरवन्दी काट्न नदिने विद्यालय त्यस पछि विद्यार्थी टिकाईरहन र विद्यालय जस्तो बनाउन केहि कार्यक्रम गर्दैन ।

विद्यालयमा राजनीति मात्रै गर्ने तर विद्यालय सुधारका लागि पहल नगर्ने विद्यालय ब्यवस्थापन समितिलाई आरोप लागेको छ । जुन विद्यालयको भुकम्प पछि बोर्ड पनि राखिएको छैन । भवन भएको लडिरहेको छ । चासो पनि छैन । शिक्षा कार्यालयले विद्यालय भवन निर्माणका लागि राखिदिएको रकम समेत विद्यालयका प्रधानाध्यापकलाई थाहा छैन ।

विद्यार्थीहरुले भने शौच आउँदा कहाँ जाउँ हामी ? १० बजे विद्यालय आएका विद्यार्थीहरुको ११ बज्दा नबज्दै टिफिन सकिएको हुन्छ । टिफिन कतिबेला खाने समेत रुटिङ्ग विद्यालयले बनाएको छैन । जागिर मात्रै खान शिक्षकहरुलाई किन सहयोग गर्ने भन्ने अभिभावकहरुको बुझाई रहेको छ ।

सामुदायिक सारथी नेपाल, जिल्ला शिक्षा कार्यालयको पहलमा गएको अनुगमन टोलीले सामुदायिक विद्यालयको अवस्था, विद्यार्थीहरुको अध्ययन र सुधार गर्नु पर्ने विषयमा विद्यालय ब्यवस्थापन समिति, विद्यालयका शिक्षक अभिभावकसँग छलफल गरेको थियो । विद्यालयमा भर्ना भएका विद्यार्थीहरु मध्ये आधा मात्रै उपस्थित हुने गरेको, उपस्थित भएका विद्यार्थीहरु पनि भट्टामा गएको देखिएको छ ।

भुकम्प पछि अझै बालबालिकाहरु उपस्थित नहुने गरेको तथ्याङ्ग रहेको प्रधानाध्यापक दिपककुमार सापकोटाले जानकारी दिए । कक्षा १ मा भर्ना भएका विद्यार्थीहरु देखि कक्षा ५ सम्मका ७ जना विद्यार्थीहरु भट्टामा गएका छन् ।

विद्यालय ब्यवस्थापन समितिको बैठक नियमित बस्न नसकेको, कक्षाकोठा तथा सिकाई ब्यवस्थित नभएको, समुदायलाई विद्यालय प्रति अपनत्व नभएको, सरसफाई जस्ता विषयमा ध्यान नदिएको, विद्यालयमा शैक्षिक क्यालेण्डर नभएको, बालबालिकाहरुलाई शौचालय जान पानी समेत नभएको जस्तो अवस्था अनुगमनको क्रममा देखिएको थियो ।

विद्यालयलाई विद्यालय जस्तो बनाउन विद्यालय श्रोत ब्यक्ति प्रेमबहादुर लामाले निर्देशन दिए भने शिक्षकहरुको विद्यालयमा नियमित उपस्थित नभएकाले पठन पाठनमा समेत समस्या भएको अभिभावकहरुले बताएका थिए ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको छ । अनुगमनमा जिल्ला समन्वय समितिका सदस्य कृष्णबहादुर लामा, सामुदायिक सारथीका जिल्ला संयोजक राजाराम गौतम लगायतको सहभागिता रहेको थियो ।