पर्यटन विकासको प्रतिबद्धता गर्न आग्रह

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
पर्यटन व्यवसायीले नेपालका सातवटै प्रदेशमा पर्यटन तथा होटल उद्योगको विकासका लागि मुख्य राजनीतिक दलको सामूहिक प्रतिबद्धताको अपेक्षा गरेका छन्। पर्यटन व्यवसायीले आसन्न चुनावका लागि तयार पारिने घोषणापत्रमा पर्यटन व्यवसायलाई विशेष प्राथमिकतासहित उल्लेख गरिदिन आग्रह गरेका थिए। छलफलमा प्रमुख राजनीतिक पार्टीका प्रतिनिधिको पनि सशहभागिता रहेको थियो।

छलफल होटल संघ नेपाल (हान) को पहलमा नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण संघ (एनएमए) तथा नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्टस् (नारा) को सहभागिता रहेको थियो।

कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले राजनीतिक नेतृत्वले पर्यटनको महत्व बुझेकाले निजी र सरकारी सहकार्यलाई सातैवटा प्रदेशमा विस्तार गरी पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको थियो।

 

उहाँले राज्यले पर्यटनका लागि सही नीति तथा पूर्वाधारमा लगानीको वातावरण तयार गरिदिएमा आफूहरूले जुनसुकै पर्यटकीय स्थलमा लगानी गर्न व्यवसायी तत्पर भएको बताउनुभयो।

उहाँको तीन मुख्य राजनीतिक दलका जिम्मेवार नेताको समुस्थितिमा पर्यटनको विषयलाई अझ गहन र व्यापक रूपमा अगाडि बढाएर नेपालका सात वटै प्रदेशका लागि भावी पर्यटनको दूरदृष्टि र मार्गचित्र कोर्ने जमर्काे गरेको बताउनुभयो।

कार्यक्रममा व्यवसायीले पर्यटनको विकास तथा विस्तारमा अन्तर्राष्ट्रिय विमानस्थलको सीमित क्षमता रहेको कारण भैरहवा र पोखरा विमानस्थल जतिसक्दो छिटो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता समेत बताएका थिए। पर्यटक तथा पर्यटन व्यवसायमा स्थानीय र प्रदेश सरकारले कर र शुल्क लगाउँदासमेत सन्तुलित ढंगले कार्यान्वयन गर्नुपर्ने उहाँहरूको माग छ।

कार्यक्रममा माओबादी केन्द्रका सचिवालय सदस्य लीलामणि पोखरेलले पर्यटन व्यवसाय साँच्चै नै दिगो आर्थिक विकासको आधार हुन सक्ने बताउनुभएको थियो। उहाँले होटल तथा पर्यटन व्यवसायीको चासोमा आफ्नो पार्टीको ऐक्यबद्धता रहेको बताउनुभयो। नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पर्यटन विकासको विषय नेपाली कांग्रेसको घोषणापत्रमा समावेश गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। कार्यक्रमका अर्का वक्ता एमाले पर्यटन विभागका प्रमुख सूर्य थापाले पनि पार्टीले तयार गर्ने चुनावको घोषणापत्रमा पर्यटन विकासको विषय प्राथमिकताका साथ निश्चित लक्ष्य तोकेरै राखिने बताउनुभयो।