विप्रेषण आप्रबाह रोकियो

0
Shares

 

काठमाडौं, (नेस)
चालू आवको दोस्रो महिनामा वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाह वृद्धि रोकिएको छ। भदौमा रेमिट्यान्स आप्रवाह रोकिएर ० दशमलव ७ प्रतिशतमा सीमित भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ६ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब १५ अर्ब ५५ करोड रुपियाँ रेमिट्यान्स आप्रवाह भएको छ। वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको संख्यामा कमी आएपछि यसको असर परेको हो। गत वर्ष १ खर्ब १४ अर्ब ७३ करोड रुपियाँ बराबर रेमिट्यान्स प्राप्त भएको थियो।

रेमिट्यान्स आप्रवाह घटेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) घट्ने सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ। श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ७ दशमलव २ प्रतिशतले घटेको थियो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ।