काठमाडौंमा भन्दा पहाडमा उच्च महँगी

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
लू आर्थिक वर्षको भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति केही वृद्धि भई ३ दशमलव ४ प्रतिशत कायम भएको छ। साउनको अन्त्यतिर भएको अत्याधिक मनसुनी वर्षाले सृजना गरेको बाढी पहिरो तथा डुवानले तरकारीको मूल्यमा उच्च वृद्धि भएको कारण उपभोक्त मूल्यवृद्धि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

२०७४ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ३ प्रतिशत रहेको थियो। अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीति ७ दशमलव ९ प्रतिशतको तुलनामा भने दोस्रो महिनाको मुद्रास्फीति कम हो।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आवको दोस्रो महिनाको तथ्यांकअनुसार खाद्य मुद्रास्फीति १ दशमलव ८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै गैरखाद्य मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको भदौमा खाद्य तथा गैर–खाद्य मुद्रास्फीति क्रमशः ७ दशमलव ७ र ८ दशमलव १ प्रतिशत रहेको थियो।

खाद्य समूहमा दलहन तथा गेडागुडीको मूल्यमा २३ दशमलव ७ प्रतिशत तथा मसलाको मूल्यमा ४ दशमलव २ प्रतिशतले कमी आएको कारण समग्र खाद्य मुद्रास्फीति अघिल्लो वर्षको भन्दा न्यून रहन गएको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा तरकारीको मूल्य ८ दशमलव ९ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ८ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ। गैरखाद्य उपभोग्य सामाग्रीअन्तर्गत लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सामान तथा सेवा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५ दशमलव ४ प्रतिशत, तराईमा ३ दशमलव ८ प्रतिशत र पहाडमा ३ दशमलव ४ प्रतिशत रहेको छ। त्यस्तै काठमाडौं उपत्यकामा २ दशमलव ८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७ दशमलव ५ प्रतिशत, तराईमा ७ दशमलव ४ प्रतिशत, पहाडमा १० दशमलव ३ प्रतिशत र काठमाडौं उपत्यकामा ६ दशमलव ६ प्रतिशत रहेको थियो।