“स्थानीय तहले पर्यटकसँग जथाभावी शुल्क उठाउन मिल्दैन”

0
Shares

 

 

काठमाडौं, (नेस)
स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले स्थानीय तहले पर्यटकसँग आफूखुसी पर्यटन शुल्क उठाउन नहुने बताउनुभएको छ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ३९औं साधारणसभाको उद्घाटन गदै सचिव न्यौपाने नवगठित गाउँपालिका तथा नगरपालिकाले जथाभावी शुल्क उठाउनु नहुने बताउनुभएको हो।

कार्यक्रममा बोल्दै सचिव न्यौपानेले संविधानले तिन तहमानै पर्यटन शुल्क उठाउन पाउने भए पनि त्यसको कार्यविधि भने बनी नसकेको जानकारी दिनुभयो। उहाँले अर्थ मन्त्रालयमा वित्तीय हस्तान्तरण ऐनको कार्यविधि बनाइरहेकाले कसले पर्यटन शुल्क लिने भन्ने चाँडै टुंगो लाग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले राजनीतिक अस्थिरताले नेपालको पर्यटनले गति लिन नसकेकाले गर्दा सबै पर्यटन सम्बध निकायको समन्वयकारी भूमिकाको आवश्यक रहेको बताउनुभयो। न्यौपानेले आर्थिक, सामाजिक परिवर्तनका लागि ट्रेकिङ व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको पनि उल्लेख गर्नुभयो।

सचिव न्यौपानेले बजेटको उचित व्यवस्थापन गर्न नसक्दा टिम्स समस्या उत्पन्न भइरहेको भन्दै टान नेतृत्वले यसलाई गम्भीर रूपमा मनन गर्न पनि आग्रह गर्नुभयो। सचिव न्यौपानेले नेपालका केही क्षेत्रमा गाइडबिनै ट्रेकिङ गर्न नपाउने व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।
कार्यक्रममा बोल्दै टानका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद रिजालले सरकार परिर्वतनसँगै परिर्वतन हुने कर्मचारीतन्त्रका कारण पर्यटन व्यवसायले गति लिन नसकेको बताउनुभयो।
आइबार सम्मन्न टानको साधारसभामा मोहन लम्साल समूह र नवराज दाहालको समूह निर्वाचन मैदानमा रहेका छन्। टानको निर्वाचनमा १ हजार १ सय ८६ मतदाता रहेकोमा ७ सय २७ मत खसेको छ। यो कूल मतदाताको ६१ प्रतिशत रहेको निर्वाचन अधिकृत रमेश मैनालीले जानकारी दिनुभयो।

टानको साधारणसभामा पर्यटन क्षेत्रमा योगदान पुर्याउनु हुने विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान तथा सम्मान गरिएको थियो। त्यसमध्ये ५० हजार राशीको टान सगरमाथा डा. हर्क गुरुङ अवार्ड २०१७ बाट बच्चुनारायन श्रेष्ठलाई सम्मानित गरियो। त्यस्तै २५ हजार राशीको टान सगरमाथा जर्नलिष्ट अवार्ड, २०१७ बाट भरतबन्धु थापा र कुमार चौलागाईंलाई प्रदान गरियो भने अर्को २५ हजार राशीको टान सगरमाथा पासाङ ल्हामु अवार्डबाट फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सम्मानित हुनुभयो। १५ हजार राशीको टान सगरमाथा पेम्बा डोल्मा एकेडेमी अवार्ड नेपाल माउन्टेन एकेडेमीलाई प्रदान गरियो।

टान इन्टरनेसनल म्याराथुन अवार्डबाट पत्रकार अर्जुन पाख्रिन, प्रकाश खालिङ, शिव श्रेष्ठ, रामेश्वर कार्की, जनार्दन अर्याल तथा खिलक बुढाथोकीलाई सम्मानित गरिएको थियो।