काठमाडौंमा विजय गोपालको चर्चा


 

दोस्रो चरणको निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुर्याएको छ। नगर क्षेत्र हँुदै जिल्लाबाट आएका धेरै आकांक्षी उम्मेदवारमध्येबाट अन्तिम टुंगो लगाउने क्रममा रहेको नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि अधिकांश उम्मेदवारको नाम टुंगाइसकेको छ। शिर्ष नेताहरूसहित दोस्रो चरणको निर्वाचनका लागि दुई दिनअघि मात्र २२ जना नेताको क्षेत्रसमेत संसदीय समितिले निर्णय गरिसकेको छ।

प्रमुख वाम घटक दल एमाले र माओवादी केन्द्रले तालमेल गरी निर्वाचनमा सहभागी भएपछि कांग्रेसलाई निर्वाचन जित्न सकस हुने अनुमान गरिएको बेला कांग्रेसले भने स्थानीयस्तरमा चर्चित र चुनाव जित्न सक्ने नेता छनोट गर्नुपर्ने बाध्यता छ। कांग्रेसको यो बाध्यतासँगै युवा पुस्ताका नेताहरू चुनावी मैदानमा वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न तयारी अवस्थामा बसेका छन्।

आगामी निर्वाचनमा चुनाव चित्ने निश्चिन्तताका साथ वामघटक दलहरूसँग प्रतिस्पर्धा गर्न तम्सिएका युवा नेता हुन् विजय गोपाल श्रेष्ठ। एक दशक लामो विद्यार्थी राजनीतिबाट खारिएका श्रेष्ठ स्थानीयस्तरमा लोकप्रिय मात्र छैनन्, विभिन्न संघ–संस्थामार्फत सामाजिक कार्यमा निरन्तर सक्रिय भएर स्थानीय बासिन्दाको मनमस्तिष्कमा
बसेका छन्।

प्रदेशसभाको प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर ८ को ‘क’ बाट उम्मेदवारी दिने तयारी गरिहनुभएका विजय गोपालले शीर्ष नेताहरूबाट ग्रिन सिग्नलसमेत पाइसकेका छन्। रामचन्द्र पौडेल, प्रकाशमान श्रेष्ठ, नवीन्द्रराज जोशीलगायत कांग्रेस नेताहरूले पनि विजय गोपाललाई टिकट दिएमा काठमाडौं क्षेत्र नम्बर ८ ‘क’ मा कांग्रेसले जित्ने अनुमान गरिसकेका छन्। यो क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारको लागि केन्द्रमा सिफारिस भएको तीन जनामध्ये एक जना राजेश श्रेष्ठको समानुपातिक सूचीमा नाम परेको बताइएको छ। बाँकी रहेका विजय गोपाल र राज्यलक्ष्मी श्रेष्ठमध्ये कसलाई टिकल दिँदा कांग्रेसले निर्वाचन जित्छ भन्ने संसदीय समितिमा छलफल भइरहेको छ। टिकटको दाबेदार राज्यलक्ष्मी समानुपातिकतर्फको निवर्तमान सांसद हुन्।

नेवार समुदायको बाहुल्य रहेको यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको किलागल हँुदै कोहिटीकल–बाफलदेखि दमकल कार्यालयसम्मको वडा नम्बर १३, १९, २०, २३ र २४ पर्दछ। यो क्षेत्रमा नेवार समुदाय करिब ९० प्रतिशत बसोबास गर्दछन्। यहाँका बासिन्दा प्रायःजसो परोपकार स्कुलमा अध्ययन गरेका र पब्लिक क्याम्पसमा अध्ययनरत धेरै भएकाले आफूलाई मन पराउने धेरै भएको विजय गोपाल बताउँछन्। कांग्रेसका क्रियाशील सदस्यसमेत धेरै रहेको यो क्षेत्रमा प्रतिनिधिसभामा नवीन्द्रराज जोशी चुनावी मैदानमा उत्रिएका छन्। युवामात्र मात्र हैन टोल र समुदायमा लोकप्रिय, सामाजिक कार्यमा सक्रिय पूर्वमोडल तथा कोरियोग्राफर विजय गोपाल लोकतान्त्रिक आन्दोलनका क्रममा घाइतेसमेत भएका थिए।

स्कुलमा नेपालभाषा विषय लिएर एसएलसी परीक्षासमेत दिएका विजय गोपाललाई नेवार समुदायको बाहुल्य रहेको क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्न सजिलो पनि हुने संसदीय समितिका एक सदस्यले नेपाल समाचारपत्रलाई बताएका छन्।

नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला सभापति भइसकेका नेता प्रकाशमान सिंह, गगन थापा, नवीन्द्रराज जोशी राष्ट्रिय राजनीतिमा स्थापित भइसकेका छन्। १० वर्ष काठमाडौं नेविसंघको जिल्ला नेतृत्व गरेका विजय गोपाल काठमाडौं क्षेत्र नम्बर ८ ‘क’ मा प्रतिस्पर्धा गर्ने तयारीमा छन् भने दीपेन्द्र श्रेष्ठ काठमाठौं क्षेत्र नम्बर १ ‘क’ मा धर्मराज गौतम क्षेत्र नम्बर ९ ‘ख’ मा चुनावी प्रतिस्पर्धामा होमिने तयारी गर्दै छन्। नेविसंघ काठमाडौंका कृष्णा अमात्य यसअघि नै समानुपातिकबाट सभासद् भइसके भने अहिले पनि समानुपातिकबाट प्रतिनिधिसभामा सूची पठाइएको छ।

 

प्रदेशसभाको प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर ८ को ‘क’ बाट उम्मेदवारी दिने तयारी गरिहनुभएका विजय गोपालले शीर्ष नेताहरूबाट ग्रिन सिग्नलसमेत पाइसकेका छन्। रामचन्द्र पौडेल, प्रकाशमान श्रेष्ठ, नवीन्द्रराज जोशीलगायत कांग्रेस नेताहरूले पनि विजय गोपाललाई टिकट दिएमा कांग्रेसले जित्ने अनुमान गरिसकेका छन्।