दोलखामा वाम गठबन्धनको औपचारिक चुनावी अभियान


 

चिरञ्जीवी मास्के, दोलखा

दोलखामा वाम गठबन्धनले आइतबार संयुक्त अगुवा कार्यकर्ता भेलाको आयोजना गरेर औपचारिकरूपमा चुनावी अभियान शुरू गरेको छ।

पार्टीका केन्द्रीय नेतादेखि जिल्ला तहका नेता कार्यकर्ता सहभागी रहेको भेलामा सहभागीले जिल्लाको विकास र समृद्धिका लागि वाम गठबन्धनको जित आवश्यक रहेको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन प्रतिबद्ध रहेको बताएका थिए।

भेलालाई सम्बोधन गर्दै माओवादी स्थायी कमिटी सदस्य गंगा कार्कीले वाम गठबन्धन ५ वर्षका लागि मात्र नभइ कम्तीमा ५० वर्षका लागि हुने चर्चा गर्नुहँुदै गठबन्धनका उम्मेदवारलाई जिताउन सबै नेता कार्यकर्ता प्रतिबद्ध रहेको बताउनुभयो। स्थायी कमिटी सदस्य कार्कीले जिल्लाको विकासका लागि वाम गठबन्धनको आवश्यकता रहेको उल्लेख गर्नुहुँदै वाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको बताउनुभयो।

भेलामा एमाले पोलिटब्युरो सदस्य एवं २ नम्बर प्रदेशमा वाम गठबन्धनका उम्मेदवार पशुपति चौलागाईंले जिल्लामा लामो समयदेखि नेतृत्व गरिरहेको एमालेलगायतका वामपन्थी दलहरूको एकताले जिल्लाको विकास र समृद्धिमा नयाँ आयाम थपिने बताउनुभयो। नेता चौलागार्इंले जिल्लामा भएका अधिकांश विकासका अभियानमा एमालेलगायतका वामपन्थी दलहरूकै नेतृत्व रहेको बताउनुभयो। उहाँले वाम गठबन्धनलाई जिताउन एमाले र माओवादी केन्द्रका नेता–कार्यकर्ता इमानदारितापूर्वक लाग्ने विश्वाससमेत व्यक्त गर्नुभयो।

भेलामा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभामा वाम गठबन्धनको उम्मेदवार पार्वत गुरुङ, एमाले नेता आनन्दप्रसाद पोखरेल, एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य शिवप्रसाद भण्डारी, माओवादी केन्द्रका नेता एवं प्रदेशसभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार विशाल खड्का, माओवादी केन्द्र दोलखाका सहइन्चार्ज नरबहादुर पाख्रिन, जिल्ला संयोजक गोपाल पाण्डे, एमाले केन्द्रीय उद्योग विभाग सदस्य बालकृष्ण शिवाकोटीलगायतले वाम गठनन्धको पक्षमा जनलहर ल्याउन सबै नेता–कार्यकर्ता प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो।

भेलाले सोमबारबाट तीन वटा टोली बनाएर चुनावी अभियान शुरू गर्ने निर्णय गरेको छ। प्रदेशसभातर्फ एक नम्बर प्रदेशको टोलीले गौरीशङ्कर गाउँपालिकाबाट अभियान शुरू गर्ने र दुई नम्बर प्रदेशको टोलीले शैलुङ गाउँपालिकाबाट अभियान शुरू गर्ने संयुक्त निर्वाचन परिचालन समितिका सदस्य एमाले सचिव भरत दुलाले बताए। टोलीले आयोजना गर्ने गाउँपालिका तथा नगरपालिकास्तरको भेलामा दुवै पार्टीका केन्द्रीयस्तरका नेताहरू सहभागी हुने र वडा तहमा आवश्यकताअनुसार नेताहरूको सहभागिता रहने सचिव दुलाले बताउनुभयो।

नेपाली कांग्रेस पनि अभियानमा
नेपाली कांग्रेस दोलखाले पनि सोमबारबाट गाउँस्तरीय चुनाव प्रचार अभियान शुरू गर्ने भएको छ। अभियान क्षेत्र नम्बर १ को बैतेश्वर गाउँपालिका र क्षेत्र नम्बर २ को कालिञ्चोक गाउँपालिकाबाट शुरू हुने सचिव सन्तोष रिमालले जानकारी दिनुभयो।

उहाँका अनुसार स्थानीय तहमा कांग्रेसले जित हासिल गरेका वडाबाट अभियानको शुरूआत गर्न लागिएको हो। अभियानमा प्रतिनिधिसभा सदस्य उम्मेदवार रुदबहादुर खड्का र प्रदेशसभामा क्षेत्र नम्बर १ का उम्मेदवार बर्मा लामा तथा क्षेत्र नम्बर २ का उम्मेदवार केशव चौलागाईंलगायतको सहभागिता रहनेछ। नेपाली कांग्रेसको उम्मेदवारलाई लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपा (प्रजातान्त्रिक) र राप्रपाले सर्मथन गरेको छ।