फोरम र राजपालाई उम्मेदवार जोगाउन कठिन, वाम गठबन्धनलाई पर्खिंदै लोकतान्त्रिक समूह



 

बीपी साह, काठमाडौं
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा निकै प्रतिस्पर्धात्मक रहेको दुई नम्बर प्रदेशको उम्मेदवार चयनको विषय निकै जटिल बन्दै गएको छ। दुई नम्बर प्रदेश केन्द्रित दलमा उम्मेदवारका आकांक्षी धेरै छन् भने वाम गठबन्धनसँग बलिया उम्मेदवार थोरै छन्। जसका कारण उम्मेदवार चयनका विषयमा दुवै पक्ष एक–अर्कालाई पर्खिंदै छन्।

दुई नम्बर प्रदेशमा मधेसवादी दलका असन्तुष्ट उम्मेदवारलाई वाम गठबन्धनले टिकट दिने तयारी गरेको छ। जसका लागि वाम गठबन्धनले हालसम्म दुई नम्बर प्रदेशका सम्पूर्ण उम्मेदवारको नाम सार्वजनिक गरेको छैन। मधेसवादी दलबाट विद्रोह गरेर आउने नेताका लागि एमालेले केही सिट नै खाली राखेको छ।

यता मधेसवादी दलले पनि प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्न ढिलाइ गरेको छ। प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षी धेरै भएकाले उम्मेदवार चयन हुनेबित्तिकै पार्टीभित्र विद्रोह हुने सम्भावना रहेको छ। स्थानीय निकायको निर्वाचनमा राजपामा सबैभन्दा बढी विद्रोह भएको थियो। स्थानीय निकायको बेला सिकेको पाठलाई ध्यानमा राखेर उम्मेदवारको टुंगो लगाउनमा ढिलाइ भएको राजपाका प्रवक्ता सन्तोष मेहताले बताउनुभयो।

लोकतान्त्रिक गठबन्धनको कार्यदल सदस्य एवं राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले उम्मेदवार चयनका विषयमा पार्टीभित्र छलफल भइरहेको बताउँदै वाम गठबन्धनका नेताले मधेसवादी दलका नेतालाई तान्ने प्रयास गरेको आरोप लगाउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वाम गठबन्धनका नेताहरू मधेसवादी दलका रुष्ट उम्मेदवारलाई तान्ने पक्षमा छन्। उनीहरूले अहिलेसम्म मधेसमा उम्मेदवार पाएका छैनन्। त्यस कारण हाम्रो उम्मेदवार चयनमा पनि ढिलाइ भएको छ।’

यता वाम गठबन्धनको कार्यदलमा रहेका माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले अहिले समानुपातिकको अन्तिम सूची दिनुपर्ने भएकाले केही क्षेत्रको उम्मेदवार टुंगो लाग्न नसकेको बताउनुभयो। यादवले आफूहरूसँग उम्मेदवार भए पनि केही थप बलियो उम्मेदवारहरू आउने तयारीमा रहेको बताउनुभयो।

प्रदेश नम्बर दुईमा राजपाभित्र उम्मेदवारका धेरै आकांक्षी भए पनि चुनाव जित्न सक्ने उम्मेदवारको खोजी भइरहेको छ। त्यस्तै अवस्था फोरम नेपालभित्र पनि रहेको छ।

फोरम नेपालका महासचिव रामसहायप्रसाद यादवले समानुपातिकको सूची फाइनल भएपछि प्रत्यक्षतर्फको उम्मेदवार चयन हुने बताउनुभयो। उहाँले आफ्नो पार्टीमा नयाँ अनुहारहरू पनि थपिएको र तालमेल भइरहेकाले प्रत्यक्षतर्फको उम्मेदवार चयनमा केही समय लाग्ने पनि बताउनुभयो।

फोरम नेपालले दाबी गरेका क्षेत्रमा प्रत्यक्षतर्फ लड्ने उम्मेदवारको खोजी जारी रहेको छ। गठबन्धनको भागवण्डामा सिट पाए पनि बलियो उम्मेदवार नभए चुनाव हार्ने डर फोरमका नेतामा छ।

राजपा र फोरमसँग सिटको तालमेलको विषयमा छलफल जारी रहेको बताउँदै यादवले अहिले कुनै पनि विषय टुंगो नलागेको प्रस्ट पार्नुभयो। उहाँले राजपा अथवा कांग्रेससँग पनि औपचारिक सहमति भइनसकेको बताउनुभयो। यता राजपाका प्रवक्ता मेहताले पनि पार्टीभित्र उम्मेदवारको आकांक्षी धेरै भएको बताउँदै व्यवस्थापनमा समस्या आइरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्