‘टुहुरो कुण्डली’ को लोकार्पण

0
Shares

काठमाडौं, (नेस)
युवा साहित्यकार भीष्मराज फुलाराद्वारा लिखित उपन्यास ‘टुहुरो कुण्डली ’ को शनिबार राजधानीमा लोकार्पण गरिएको छ।

विमोचन कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, आयोजक संस्था शिखर नेपालका अध्यक्ष शेखर नेपाल, चलचित्र निर्देशक उज्ज्वल घिमिरे, कलाकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकिशोर पौडेल, कलाकार रवीन्द्र खड्का, साहित्यकारद्वय रामकुमार पाण्डे तथा हेमाङ्गराज गिरीलगायतको सहभागिता रहेको थियो।

उक्त कार्यक्रम विश्वकै होचा कलाकारका रूपमा गिनिज बुकमा नाम लेखाउन प्रयासरत दिपेन शाहको नाममा स्थापित फाउन्डेसन दिपेन शाह फाउन्डेसनको सहयोगार्थ आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै साहित्यकार तथा लेखक हेमाङ्गराज गिरीले सामाजिक संवेदनशीलतामा आधारित उपन्यास भएकोले लेखकलाई प्रोत्साहन दिनुपर्ने भनाइ राखे। ‘यो उपन्यासले हामी सबै पाठकको मन जितोस् र दिपेन शाहको जुन प्रयास भइरहेको छ, त्यसको लागि कलाकार संघ सदैव तयार छ’, –कलाकार रामकिशोर पौडेलले भने।

त्यस्तै साहित्यकार रामकुमार पाण्डेले अहिलेका युवाहरूले साहित्य विकासमा जुन योगदान दिइरहेका छन्, यो उपन्यास त्यसकै प्रतिनिधि भएको बताए। ‘नेपालको हावापानीमा रहेको विशेषताले गर्दा पनि नेपाली साहित्यको विकास र अन्तर्राष्ट्रियकरणमा पनि सम्भव छ’, –उनले जोड दिए। साथै साहित्यकार पाण्डेले पाठकले ‘टुहुरो कुण्डली’ उपन्यास पढ्दा करुणाभावको आशय पाउनेबारे चर्चा गरे।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले उपन्यासमा सिंगो नेपालको अवस्था र परिस्थितिको चित्रण गरिएको बताए।

त्यस्तै पत्रकार ऋषि धमलाले कार्यक्रम आयोजना गर्ने संस्था शिखर नेपाललाई धन्यवाद दिँदै दिपेन शाहको प्रयासले सफलता पाउने कामना व्यक्त गरे। शिखर नेपालका अध्यक्ष शेखर नेपालले हाम्रो संस्थाले नेपाली साहित्य, कला र संस्कृतिको विकासमा काम गर्दै आइरहेको र भविष्यमा पनि यसले निरन्तरता पाउनेमा जोड दिएका थिए।