‘डोल्पोः विश्वको जीवित संग्रहालय’ सार्वजनिक

0
Shares

 

काठमाडौं (नेस)
लेखक मदनमणि दीक्षितले विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित ‘डोल्पोः विश्वको जीवित संग्रहालय’ पुस्तकको लोकार्पण गर्नुभयो।

पुस्तकले पश्चिम नेपालको हिमाली क्षेत्रको भुगोल र प्रकृतिमात्र नभई त्यस क्षेत्रको संस्कृति, जनजीवन र आर्थिक अवस्थाबारे प्रकाश पारेको बताउनुभयो। पुस्तकबारे बोल्दै उहाँले यहाँका शैक्षिक संस्था र विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई जानकारी दिन इतिहासको अंगका रूपमा यसलाई समावेश गर्न अनुरोध गर्नुभयो।

साहित्यकार डा. तारानाथ शर्माले यो नियात्रा कृति साँचो अर्थमा नियात्रा भएकाले यस कृतिका पाठकले लेखकसँगसँगै नयाँ स्थानहरूको आपैंm यात्रा गरेको अभूतपूर्व र अति आकर्षक अनुभव गर्न सक्दछन् भन्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले डोल्पादेखि प्रारम्भ भएको यात्राले शे–फोक्सुन्डोजस्तो अति रमणीय तालको भ्रमण गराउँदै तथा हाम्रो इतिहासमा खसजाति तथा बौद्ध धर्म मान्ने हाम्रा स्थानीय जनताको समेत परिचय दिँदै राष्ट्रियताको अति सुन्दर भावनाको कसरी विकास हुन सक्यो भन्ने तथ्यलाई छर्लंग पारेको बताउनुभयो।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा जीवेन्द्रदेव गिरीले नेपाली वाङ्मयलाई नयाँ कृति दिन सफल भएको भन्दै लेखकलाई शुभकामना दिनुभयो। लेखक तथा वरिष्ठ पत्रकार प्रा रामकृष्ण रेग्मीले पुस्तकका विविध पक्षबारे चर्चा गर्नुभयो। जनमत साहित्यिक पत्रिकाका सम्पादक तथा साहित्यकार मोहन दुवालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको अध्यक्षता भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुलीले गर्नुभएको थियो।