मार्सिएलद्वारा युनाइटेडको उद्धार

0
Shares

लन्डन, (एजेन्सी)
बेन्चबाट मैदानमा प्रवेश गरेका एन्थोनी मार्सिएलले प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडको उद्धार गरेका छन्।

ओल्ड ट्राफोर्डमा टोटनहाम हट्सपोरविरुद्ध बराबरी नतिजा आत्मसात गर्न तयारीमा लागेको म्यानचेस्टरलाई मार्सिएलले गोल गर्दै जित दिलाएका हुन्। उनले ८१औं मिनेटमा गरेको गोल निर्णायक भएपछि घरेलु टोली १–० ले विजयी भयो। यो जितसँगै म्यानचेस्टर युनाइटेड अंकतालिकामा दोस्रो स्थानमा यथावत् रह्यो।

मार्सिएल ७०औं मिनेटमा मार्कस रासफोर्डको स्थानमा मैदान छिरेका थिए। मेनेजर जोजे माउरिन्होले रासफोर्डलाई निकालेर मार्सिएललाई परिचित गराउनु निर्णय सही पनि साबित भएको थियो।फ्रेन्च स्ट्राइकरले स्पर्सको किपर हुगो लोरिसलाई बीट गर्दै गोल गरेका थिए। यो गोल हुँदा खेल सकिन ९ मिनेटको समय थियो।

यसअघि दोस्रो हाफमै रोमेलु लुकाकुको दुई प्रयास गोलमा परिणत हुन नसक्दा म्यानचेस्टरले अग्रता लिन सफल भएन। एउटा प्रहारलाई विपक्षी गोलकिपरले बचाए भने अर्को प्रहार पोलमा ठोकिएको थियो। त्यस्तै टोटनहामको लागि डेले अलीले क्रिस्टियान इरिकसेनको क्रसलाई गोलको दिशा दिन सकेनन्। टोटनहामले हेरी केन बिना खेलेको थियो। यो टोलीको लगातार तेस्रो हार पनि थियो।