व्यावसायिक तरकारी खेतीतर्फ किसान आकर्षित

0
Shares

 

प्रकाश पन्त, वीरेन्द्रनगर
सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ आँपखोलीका किसान टोपबहादुर बुढा बारीमा लगाएको तरकारी गोडमेलमा व्यस्त हुनुहुन्थ्यो। उहाँले ३ वर्ष अघिबाट व्यावसायिक रूपमा तरकारी खेती थालेका थिए। उहाँको ५ रोपनी जग्गामा यतिखेर काउली, बन्दा, टमाटरलगायतको तरकारीले टनक्कै थियो।

आँपखोलीकै निमबहादुर बिक पनि ३ वर्षदेखि आफ्नै बारीमा पसिना बगाउँदै आउनु भएको छ। अहिले उहाँलाई बनगाड कुपिन्डे नगरपालिकाकै सफल कृषक बन्नु भएको छ। सल्यानको सल्लीबजार क्षेत्रका धेरेजसो किसानको दैनिकी टोपबहादुर र निमबहादुरकै जस्तो छ। उच्च मूल्यकृषि वस्तु विकास आयोजना सुर्खेतको सहयोगपछि छिन्चु जाजरकोट सडक खण्ड आसपासका किसानको जीवनस्तर फेरिएको छ। विष्णु आँपखोली ताजा तरकारी उत्पादन समूहमा आबद्ध २५ जना किसानले तरकारी बेचेरै राम्रो आम्दानी गरिरहेका छन्।

उनीलाई ३ वर्षअघिबाट आयोजनाले सहयोग गर्दै आएको छ। आयोजनाको सहयोगपछि सल्लीबजार आसपासका धेरै किसानले व्यावसायिक रूपमा तरकारी खेती थालेका थिए। अहिले उनीहरूको लागि मौसमी र बेमौसमी तरकारी खेती वरदान सावित भएको छ। मौसमी र बेमौसमी तरकारी बेचेर एकजना किसानले वार्षिक रूपमा ३ लाख आम्दानी गर्दै आएका छन्। समूहका कोषाध्यक्ष लालबहादुर बिसीले भन्नुभयो–‘तरकारी व्यवसायबाट नाम र दाम कमाएका किसान आफूले पाएको सफलताबाट निकै खुशी छन्।

वनगाड कुपिन्डे नगरपालिका–१ आँपखोलीका टोपबहादुर बुढाको ५ रोपनी जग्गामा बाह्रैमास मौसमी र बेमौसमी तरकारी हुन्छ। तरकारी बेचेर वार्षिक ५ लाखभन्दा बढी आम्दानी गरिरहेका बुढा भन्नु हुन्छ, बेच्न जानै पर्दैन, बारीमै खोसाखोस हुन्छ। तरकारी खेती गर्नुभन्दा अघि उहाँको आम्दानी गर्ने बाटो थिएन। घर खर्च चलाउन वर्षेनी भारत जाने गर्थे उहाँले विगत सम्झदै भन्नुभयो–‘ आवश्यक परेका बेला ऋण माग्न जाँदा नपत्याउनेहरू अहिले प्रशंसा गर्न थालेका छन्। तरकारीबाट राम्रै आम्दानी हुन थालेपछि गाउँमा सफल किसानको पहिचान भएको छ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सल्लीबजार आसपासका बासिन्दा व्यावसायिक तरकारी खेतीतर्फ थप आकर्षित भएका छन्। पुरुषसँगै महिलाले पनि जग्गा भाडामा लिएर व्यावसायिक रूपमा तरकारी खेती गरिरहेका छन्। राधाकृष्ण ताजा तरकारी कृषक समूहमा आबद्ध पार्वती विकले ३ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्न शुरू गर्नुभएको छ। धान, मकै, गहुँलगाउने जग्गा भाडामा लिनु भएकी उहाँले तरकारी खेतीबाट वर्षमा २ लाख ५० हजार रुपियाँसम्म आम्दानी गर्दै आएको बताउनुभयो। व्यासायिक रूपमा तरकारी खेती गर्नको लागि आयोजनाले आफ्नो समूहलाई १५ लाख रुपियाँ अनुदान सहयोग गरेको समूहका सदस्य राधिका पुनले बताउनुभयो।

तरकारी खेतीले सल्लीबजार क्षेत्रका किसानको जीवनस्तर उकास्दैछ। एक जना किसानले एक सिजनमा ५० क्विन्टल तरकारी बेच्ने गर्छन्। आयोजनाले विष्णु आँपखोली ताजा तरकारी समूहलाई ८ लाख रुपियाँ अनुदान दिएको थियो।समूहका सचिव तुंगबहादुर बिसीले भन्नुभयो–‘ उच्च मूल्य आयोजनाको सहयोगपछि किसानले व्यावसायिक रूपमा तरकारी खेती थालेका छन् भने आम्दानी पनि बढेको छ।

भारतीय तरकारीको कारण बजार मूल्यमा उताव चढाव आउने गरेको किसानले बताएका छन्। विष्णु आँपखोली ताजा तरकारी उत्पादन समूह सचिव तुंगबहादुर बिसीले व्यापारीले किसानलाई तुरुन्तै नगद नदिने गरेको गुनासो गर्नुभयो ।

उपकरणको अभाव, मौसमअनुकुलका तरकारीका बिउको अभाव, सिँचाइ सुविधान हुनु जस्ता कारणले पनि किसानले थप आम्दानी गर्न सकिरहेका छैनन्। उनीहरूले मौसम अनुकुलका तरकारीको बीउको विकास गर्नुपर्ने, कृषि प्रविधिलाई किसानमैत्री बनाउनुपर्ने माग गरेका छन्। यस्तै राज्यले किसानलाई सस्तो ब्याजदरमा उपकरण, बीउ बिजन, खन जोत गर्ने उपकरणको पनि तत्काल व्यवस्था गर्नुपर्नेमा पनि किसानले जोड दिएका छन्।

उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका प्रमुख राजेन्द्रप्रसाद भारीले किसानको आयस्तर वृद्धि गर्नको लागि समस्या समाधानको लागि आयोजनाले काम गर्ने बताउनुभएको छ।