तीन गाउँपालिका सडक सञ्जालमा जोडिँदै

0
Shares

 

नेपाल समाचारपत्रहेटौंडा मकवानपुरको मनहरी गाउँपालिका हुँदै शुरु भएको सिमपानी–देवकोट–सरिखेत मोटरबाटोलाई कैलाश गाउँपालिकाको गोगनेसम्म जोडिने भएको छ।

निवर्तमान सांसद् राजाराम स्याङ्तानले निर्वाचन क्षेत्र भौतिक विकास कार्यक्रमअन्तर्गत् सिमपानी–सरिखेत र सरिखेत हँँदै भार्ता–गोगनेसम्म पुग्ने खण्ड निर्माणका लागि २ वटा शीर्षकमा बजेट विनियोजन गर्नुभएको हो। उहाँले पश्चिम मकवानपुरको तीनवटा गाउँपालिका र यस क्षेत्रकै प्रमुख मनहरी बजार जोड्ने बाटोका रूपमा रहेको सिमपानी–देवकोट सरिखेत खण्डलाई बिस्तार गरी कैलाश गाउँपालिकासँग जोड्न लागिएको बताउनुभयो।

चालू आर्थिक वर्षको निर्वाचन क्षेत्र भौतिक विकास कार्यक्रमअन्तर्गत् सिमपानी–सरिखेत खण्डका लागि उहाँले ४० लाख विनियोजन गर्नुभएको थियो। सरिखेतबाट भार्ता हुँदै गोगने जोड्नका लागि २० लाख रुपियाँ विनियोजन गरिएको निवर्तमान सांसद् स्याङंतानले जानकारी दिनुभयो। निर्वाचन क्षेत्र विशेष कार्यक्रमका संयोजक एवम् मकवानपुर क्षेत्र नं ४ का सांसद स्यांङतानको अध्यक्षतामा बसेको बैठकले सिमपानी–सरिखेत खण्डका लागि ४० लाख र सरिखेत–भार्ता–गोगनेसम्म सडक बिस्तारका लागि २० लाख रुपियाँ बिनियोजन गरेको हो।
दुई खण्डमा बजेट विनियोजन गरेपछि मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका जोडिने विश्वास रहेको स्याङ्तानले बताउनुभयो। उक्त खण्डलाई तत्काल थप बजेटसमेत लगानी गरी पश्चिम मकवानपुरकै महत्वपूर्ण सडकका रूपमा बिस्तार गर्दै लगिनुपर्ने आवश्यकता रहेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानको भनाइ छ।
सिमपानी–सरिखेत सडक निर्माणसँगै हाल सरिखेतसम्म वर्षायाममा अटो, साना भ्यान र ट्रेक्टर चल्न थालेका छन्। सिमपानी–देवकोट सडकखण्ड निर्माणपछि राक्सिराङ गाउँपालिका वडा नं ३ मा पर्ने सरिखेत पलाँसे बजारसम्म सामान ओसारपसार र यात्राका लागि समस्या छैन। ‘अझै यो खण्डलाई व्यवस्थित गरी वर्षायाममा बस चलाउने सपना गाउँलेले देखेका छन्’, राक्सिराङ गाउँपालिका वडा नं ३ अध्यक्ष बाबुलाल स्यांतानले भन्नुभयो। यस कामका लागि गाउँबासीको तर्फबाट सांसद्लाई घच्घच्याएपछि बजेट बिनियोजन भएको उहाँले बताउनुभयो।
उहाँका अनुसार हाल सिमपानी–देवकोट–सरिखेत खण्डका लागि ४० लाख बिनियोजन गरिएको छ भने सरिखेतको लावती हुँदै भार्तासम्म जोड्नका लागि अर्काे २० लाख बिनियोजन गरिएको छ। यसो हुँदा ट्र्याक ओपन गरी कामको शुरुवात गर्न सकिन्छ।
अर्काे वर्ष गाउँपालिका, केन्द्र र प्रदेश सरकारको लगानीमा गोगनेसम्म बाटोलाई जोड्न सकिए क्षेत्रीय बाटोको स्वरूप धारण गर्नेछ। बाटो निर्माण सम्पन्न भएमा गोगने, आग्रा, कालीकाटार, भार्ता, सरिखेतलगायत साबिकका गाविसका बासिन्दाले उत्पादन गर्ने तरकारी, जडिबुटी, पशुपक्षीले उचित मूल्य प्राप्त गर्ने विश्वास गरिएको कैलाश गाउँपालिका अध्यक्ष मोक्तानले बताउनुभयो।