ग्रामीण क्षेत्रमा गोबर ग्यास प्रभावकारी बन्दै

0
Shares

 

सरिता चलाउने, सल्यान
जिल्लाका ग्रामीण क्षेत्रमा गोबर ग्यास प्रभावकारी बन्दै गएको छ। गोबर ग्यासबाट दोहोरो फाइदा हुने भएपछि ग्रामीण क्षेत्रमा यो प्रविधि निकै प्रभावकारी बन्दै गएको हो। गाई भैंसीको गोबरबाट ग्यास बाल्नुका साथै मलको रूपमा खेतबारीमा प्रयोग गर्न सहज भएकाले किसानले दोहोरो फाइदा देखेर गोबर ग्यास प्रविधि रुचाएका हुन्।

ग्रामीण भेगमा बिजुली बत्ति नपुगेको र एलपी ग्यास किन्न पर्याप्त मात्रामा पैसाको अभाव भएका कारण गोबर ग्यास बढी प्रभावकारी मानिएको छ। कम आयस्रोत भएका व्यक्तिका लागि पैसा बचत हुनुका सार्थ घरको पनि सरसफाई हुने भएको गोबर ग्यास प्रविधि निकै प्रभावकारी भएको कालिमाटी गाउँपालिका–२ चौकीबजारका पूर्णप्रसाद खनालले बताउनुभयो। उहाँले भन्नुभयो–‘गोबर ग्यास बाल्न शुरु गरेपछि दाउराको बचत हुनुका साथै दाउरा खोज्न जाने समयको बचत भएको छ। खाना पकाउन छिटो छरितो हुन्छ। घरमा र भाडामा धुलो धुँवा लाग्दैन जसका कारण स्वास्थ्यमा पनि सुधार आएको छ।
गोबर ग्यास प्रयोग हुन थालेपछि धुँवाको समस्याबाट समेत राहत मिलेको झिगानेकी भीमकुमारी सापकोटाले बताउनुभयो।

दिनमा ५ देखि १० किलोसम्म गोबर हाल्दा एक दिनमा बिहान दिउँसो र बेलुका खाना नास्ता बनाउन सकिने उहँँले बताउनु भयो। ग्यँसमा प्रयोग भएको मल बाली नालीमा हाल्दा बढी लाग्ने गरेको समेत उहँँको भनाइ रहेको छ। गोबर ग्यास प्रयोग गर्न थालेपछि घरमा वनबाट दाउरा ल्याउनुपर्ने समस्या कम भएको बताउँदै गर्भवती महिला, बृद्धबृद्धा तथा बालकालिकाको लागि निकै सहज भएको बताउनुभयो।