कालीगण्डकीमा स्टिमर सेवा पुनः सुचारु

0
Shares

 

दुर्गाप्रसाद शर्मा, पर्वत
कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) सुचारु भएको छ।
चाडवाड सकिए लगत्तै नदीमा पानीको बहाव पनि घट्दै गएकाले सोमबारदेखि सुचारु गरिएको हो। वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि ठप्प पारिएको स्टिमर सेवा सोमबारदेखि सञ्चालनमा ल्याइएको बिहादी गाउँपालिका–६ शालिग्रामकी सचिव सुनकुमारी भट्टराईले जानकारी दिइन। जलयातायात सेवा सूचारु भएपछि पर्वत, स्याङजा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाहरू यातायातको सुविधाबाट लाभान्वित बनेका छन्। खासगरी चाडवाड मनाउन गाउँ आएका फर्किनलाई बढी सहज भएको भट्टराईले जानकारी दिनुभयो।

विगत १७ वर्षदेखि व्यावसायिक रूपमा स्टिमर सञ्चालन भएपछि दर्जनौ गाविसका बासिन्दाले ९ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आएका छन्। वर्षातको समयमा भने दुर्घटना बढ्ने खतराका कारण ३ महिना अवरुद्ध हुने गरेको छ। दक्षिण पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मिसम्म करिब सात किलोमिटरको दूरीमा जलयातायात सञ्चालनमा आएपछि पर्वतका दक्षिणबर्ती साविकका झण्डै डेढ दर्जन गाविसबासी तथा गुल्मी, स्याङ्जा र दक्षिण बागलुङका केही गाविस गरी साविकका ३०भन्दा बढि गाविसबासीलाई सहज रूपमा यात्रा गर्ने तथा मालसामान ओसारपसार गर्दै आएका छन्। यातयातको पहुँच नभएको तीनवटै जिल्लाका त्यस क्षेत्रका लागि स्टीमर सेवा बरदान साबित भएको छ।

वर्षायाममा तीन महिना भने सास्ती खेप्नु परेको व्यवसायी विष्णु न्यौपानेले जानकारी दिनुभयो। पानीको सतह घटेपछि मात्र सञ्चालनमा ल्याएका हौं उहाँले भन्नुभया–‘अहिले नियमित ११ वटा स्टिमरबाट यस क्षेत्रका बासिन्दाहरू ओहोर दोहोर गर्दै आएका छन्। यातायात शुरु भएपछि यस क्षेत्रका बासिन्दाको ४ घण्टाको बाटो आधा घण्टामा छोटिएको छ, उहाँले भन्नुभयो। स्टिमर व्यवसायी हिराप्रसाद भट्टराईका अनुसार यातायात अवरुद्ध हुँदा दैनिक आधाघण्टामा सकिने यात्रा चार घण्टाको पैदल यात्रा हिडेर स्याङ्जाको मिर्मिसम्म पुग्न यहाँका बासिन्दा बाध्य बनेका थिए।

उक्त जलायशयमा स्टिमर सेवा सुचारु भएपछि यहाँका बासिन्दाले हिउँदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका छन्। यहाँको एक मात्र भरपर्दो यातयात सेवाको रूपमा सञ्चालित स्टिमरले उक्त क्षेत्रका बासिन्दाहरूको आर्थिक अवस्थामा समेत सुधार भएको छ। पहिले कालीगण्डकीमा ताल बन्दा बजार डुबानमा पर्ने चिन्ता गर्नेका लागि अहिले त्यही जलाशय बरदानजस्तै बनेको स्थानीय व्यवसायी विष्णु न्यौपानेको भनाइ छ। स्टिमरमा स्थानीय ३० भन्दा बढीले प्रत्यक्ष रूपमा र सयौं व्यक्तिहरूले अप्रत्यक्ष रूपमा रोजगारीको अवसर समेत पाएका छन्।
कालीगण्डकी जल यातायात समितिका सचिव हरिप्रसाद भट्टराईका अनुसार पहिले डुंगा र साना स्टिमर भए पनि अहिले मालबहाक ट्रकको इन्जिन र जीपका इन्जिन राखेर सञ्चालन गरिँदै आएको छ। यसले मालबहाक ट्रककै जस्तै बहान क्षमता राख्दछ। २०५७ सालदेखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न निकै सहज भएको भट्टराईले बतउनुभयो।