जनप्रतिनिधिलाई पोषणसम्बन्धी अभिमुखीकरण

0
Shares

प्रताप बानियाँ, म्याग्दी
पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा एकीकृत पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ। समुदायस्तरमा जनप्रतिनिधिमार्फत पोषणको बारेमा जानकारी गराउने उद्देश्यसहित गाउँपालिकाका जनप्रतिनिधिलाई पोषणसम्बन्धी विषयमा अभिमुखीकरण गरिएको सुआहारा कार्यक्रमले जनाएको छ।

यूएसआईडीको सहयोग तथा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा जनप्रतिनिधिलाई अभिमुखीकरण गरिएको आयोजकले जनाएका छन्। कार्यक्रमको गाउँपालिका अध्यक्ष शतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले संयुक्तरूपमा सुनौलो हजार दिनको स्तनपान गराइरहेकी महिला माया थापालाई पोषिलो खानेकुरा दिएर उद्घाटन गर्नुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा सुआहाराका स्थानीय शासन तालिम परामर्शदाता गीता श्रीषले एकीकृत पोषण, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कुपोषणको अवस्था, पोषणयुक्त खानेकुरालगायतका विषयमा सहजीकरण गर्नुभएको छ। यसैगरी मिलन म्याग्दीको सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले चालु आर्थिक वर्ष २०७४⁄७५ मा सञ्चालित सुआहाराका कार्यक्रमहरूको बारेमा प्रस्तुतीकरण गर्नुभयो।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले आगामी पाँच वर्षभित्र मंगला गाउँपालिकामा कुपोषणको अवस्था न्यूनीकरण गरी पोषणयुक्त बनाउन प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रमको अवसरमा गाउँपालिकास्तरीय वार्षिक कार्ययोजनासमेत निर्माण गरिएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष शतप्रसाद रोकाले एकीकृत पोषण कार्यक्रम सफल पार्न सबै एक भएर लाग्नुपर्ने बताउँदै नमुनायोग्य र पोषणयुक्त समाज निर्माणका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले एकीकृत पोषण कार्यक्रम सबैको साझा भएकाले सफल पार्नुपर्ने बताउनुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, कार्यकारी अधिकृत विष्णुप्रसाद पौडेल, सुआहारा कार्यक्रमका व्यवहार परिवर्तन तथा सञ्चार अधिकृत रेजिना चुडाल, स्रोतव्यक्ति डेकबहादुर बानियाँ, वडाध्यक्ष, कर्मचारीलगायतको सहभागिता रहेको थियो। यसअघि धौलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा एकीकृत पोषणको बारेमा कार्यक्रम गरिसकिएको सुआहारा फिल्ड संयोजक पुनले बताउनुभयो।