कम्युनिस्ट ध्रुवीकरणले राष्ट्रियता कमजोरः प्रम

0
Shares

 

नेपाल समाचारपत्र
पोखरा
प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टहरूले तीव्र ध्रुवीकरण गरेर राष्ट्रियता नै कमजोर पार्ने प्रयास गरेको बताएका छन्। ‘ध्रुवीकरणले राष्ट्रियता कमजोर हुन्छ’, प्रधानमन्त्री देउवाले भने– ‘त्यसैले लोकतान्त्रिक पक्षमा जनताको मत आउनुपर्छ।’

उनले मंसिर १० र २१ गते हुने चुनाव सामान्य पार्टी पार्टीबीचको लडाइँ मात्र नभएको बताउँदै भने– ‘यो चुनाव लोकतन्त्रको लडाइँ हो, प्रजातन्त्रको लडाइँ हो र जनताको शासन स्थापना गर्ने लडाइँ हो।’ उनले एकतन्त्रीय शासन कांग्रेसले २ पटक फालिसकेको र अहिले कम्युनिस्ट अधिनायकवाद शासनविरुद्धको लडाइँ भएको बताए।

उनले भने– ‘कांग्रेसले २००७ सालमा राणा शासन फाल्यो, २०४६ सालमा पञ्चायत फाल्यो, अब अधिनायकवाद लाद्ने कम्युनिस्टहरूलाई पराजित गर्नुपर्छ।’ प्रधानमन्त्री देउवाले स्थानीय तह जित्दैमा घमण्ड नगर्न एमालेलाई आग्रह गरे। स्थानीय तहको चुनावमा जनताले व्यक्ति र व्यक्तित्व हेर्दा कांग्रेस कमजोर बनेको भन्दै प्रधानमन्त्री देउवाले तर संघ र प्रदेशको चुनावमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र डरत्रास मुक्त समाज निर्माणका लागि जनताले कांग्रेसलाई जिताउने विश्वास व्यक्त गरे।
अखण्ड पार्टीका अध्यक्षसहितका नेता तथा कार्यकर्ता एवम् पूर्वसांसद तथा उद्योगपति सूर्यबहादुर केसीलगायतलाई पार्टी प्रवेश गराउन पोखराको प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले डरत्रासबाट मुक्त समाज कांग्रेसले मात्र निर्माण गर्न सक्ने दाबी गरे।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरू लोकतन्त्रको घोडा चढेर अधिनायकवाद लाद्न उद्यत रहेको आरोप लगाए। उनले भने– ‘विश्वमै कम्युनिस्टहरू लोकतन्त्रको घोडा चढेर अधिनायकवाद लाद्न चाहन्छन्, अहिले विश्वबाटै कम्युनिस्टहरू हराउँदै गएका बेला नेपालमा पनि लोकतन्त्रको घोडा चढेर वाम गठबन्धनका नाममा अधिनायकवाद लाद्ने प्रयास भइरहेको छ, यसलाई पराजित गर्नुपर्छ।’ कार्यक्रममा नेपाली कांग्रेसका शीर्षस्थ नेताहरूको समेत उपस्थिति थियो।