सल्यानमा ११९२ म्यादी प्रहरी भर्ना


 

सल्यान, (नेस)
आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सल्यानमा १ हजार १ सय ९२ जना म्यादी प्रहरी छनोट गरिएको छ। छनोट भएकामध्ये ९ सय ५६ पुरुष र २ सय ३६ महिला रहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ। यस्तै वैकल्पिकमा २ सय ३९ जना परेका छन्। छनोटमा पर्न सफल म्यादी प्रहरीको आइतबारदेखि नै तालिम शुरू हुने बताइएको छ।

सल्यानका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार वैकल्पिकमा २ सय ३९ जना परेका छन्। म्यादी प्रहरीका लागि २ हजार ६ सय ६४ जनाको आवेदन परेको थियो, जसमा २ हजार २ सय ४५ पुरुष र ४ सय १९ महिला रहेका थिए।

प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा दुई सिट रहेको सल्यानमा १ सय ११ मतदानस्थल र १ सय ८० मतदान केन्द्र छन्। प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सल्यान जिल्लामा १ लाख ३४ हजार २ सय १३ मतदाता छन्। स्थानीय चुनावमा १ लाख २६ हजार मतदाता थिए।