जग्गा विवादले औद्योगिक क्षेत्र र उद्योगीबीच टकराव

0
Shares

नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडा औद्योगिक क्षेत्रका उद्योगी र औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयबीच तित्तता बढेको छ। हेटौंडा औद्योगिक क्षेत्रले बन्द उद्योगको जग्गा फिर्ता लिएर नयाँ उद्योग स्थापना गर्ने अभियान अघि बढाएपछि यस्तो अवस्था सिर्जना भएको हो।

औद्योगिक क्षेत्र आफैंले विगतमा सम्झौता गरेर भाडामा उपलब्ध गराएको जग्गा एकलौटी निर्णय गरेर फिर्ता प्रक्रिया अघि बढाएको भन्दै उद्योगीले असन्तुष्टि जनाएका हुन्। लामो समयसम्म बन्द रहेको उद्योगको मात्र होइन, हाल सञ्चालनमा रहेका तर बढी जग्गा ओगटेका उद्योगको जग्गा फिर्ता लिने दाउमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय लागेको उनीहरूको आरोप छ।

व्यवस्थापक पक्ष पानी, बिजुली र बाटोघाटो जस्ता भौतिक पूर्वाधारको उपयुक्त व्यवस्था गर्न नसकेको आरोप व्यवसायीले लगाएका छन्। औद्योगिक क्षेत्रले उद्योगीले भाडा तिरिरहेको जग्गा फिर्ता लिन खोज्नु गलत भएको उद्योग संघ, हेटौंडाको बुझाइ छ। संघका अध्यक्ष नवराज अर्यालले आफ्नो कमजोरी लुकाउन औद्योगिक क्षेत्र व्यवस्थापनले प्रपञ्च फैलाएको दाबी गर्नुभएको छ। व्यवस्थापनले उद्योगीलाई बदनाम गराउन खोजेको भन्दै उहाँले बिजुली, पानी आदिको व्यवस्था भए तत्काल उद्योगी प्रतिवादमा उत्रिने पनि बताउनुभयो।

लामो समयसम्म बन्द रहेका र आवश्यकताभन्दा बढी जग्गा ओगटेका उद्योगको जग्गा फिर्ता लिएर नयाँ उद्योग स्थापना गर्ने तयारी उद्योगीकै हितमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाको दाबी छ। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख नेपाल भुषण वैद्यले औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योगका ४७ दशमलव १८ रोपनी जग्गा टेण्डरका लागि केन्द्रीय कार्यालयलाई पत्राचार गरिसकिएको बताउनुभयो।

यस्तै औद्योगिक क्षेत्रले नीतिगत निर्णय गरेर जग्गाफिर्ता प्रक्रिया अघि बढाएको उहाँको भनाइ छ। यद्यपि, उद्योग व्यवसायीले भने निर्णय प्रक्रियामा उद्योगीलाई समेत सहभागी बनाएर आवश्यकताभन्दा बढी जमिन ओगटिएका ठाउँमा नयाँ उद्योग सञ्चालन गर्ने वातावरण बनाउनु उपयुक्त रहेको बताएका छन्। विवादमा अल्झिनु भन्दा समस्याको उचित समाधानतर्फ उद्योगी र हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय लाग्नु जरुरी देखिएको इच्छुक उद्योग व्यवसायीहरूकोको सुझाव रहेको छ।