पर्यटकका लागि नयाँ गन्तव्य बन्दै भालुढुंगा

0
Shares

गणेश घिमिरे, इलाम
इलामको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भालुढंगाको विकासमा इलामे युवा जुट्न थालेका छन्। इलाम नगरपालिमा जिल्लाकै सदरमुकाम भए पनि प्रचारप्रसार तथा संरक्षण अभावले ओझेलमा परेको भालुढुंगाको संरक्षणमा स्थानीय युवा जुट्न थालेका हुन्।

इलाम नगरपालिका– ६ मा पर्ने भालुढुंगा प्राकृतिक रुपले अत्यन्तै सुन्दर भए पनि पर्यटन प्रवद्र्धनमा सम्बन्धित निकायको आँखा पुग्न सकेको छैन। इलाम नगरपालिकाभित्रै यस्ता पर्यटकीय गन्तव्य भए पनि यो क्षेत्र ओझेलमा परेको थियो। तर, यतिखेर यस क्षेत्रको संरक्षण र प्रचारको जरुरी भएको महशुस गर्दै स्थानीय युवा सक्रिय भएर जुट्न थालेका छन्। उक्त क्षेत्रको विकासका लागि स्थानीय युवा भालुढुंगा संरक्षण समिति नै गठन गरेर आर्थिक सहयोग समेत जुटाउन थालेका छन्।

स्थानीय युवा तथा भालुढुंगा संरक्षण समितिका सदस्य कपिल कोइरालाका अनुसार करिब १४ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा रहेको पर्यटकीय गन्तव्य समिति सक्रिय भएर लागेको छ। उहाँले भन्नुभयो– ‘यहाँका विकासका लागि भालुढुंगा क्षेत्र परिसरमा रेलिङ लगाउने र बाटो बनाउनेलगायतका कार्य गरिहेका छौं।’

भालुढंगाको पर्यटन प्रवद्र्धनमा सक्रिय रुपमा लागेका स्थानीय युवा हरि गुरुङले योजना र कामको शुरुवातसँगै पर्यटकीयस्थलको विकासका लागि सरोकारवाला निकायको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। गुरुङले भन्नुभयो–‘यस क्षेत्रको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको छ। तर, बजेट अभावका कारण गर्न सकिरहेका छैनौं।’ उहाँका अनुसार विभिन्न निकाय तथा व्यक्तिबाट आर्थिक सहयोग जुटाउने कार्यमा समिति अघि बढिरहेको छ। सबैको सहयोग पुगेमा सिंगो इलाम जिल्लाका नेपालकै नयाँ पर्यटकीय गन्तव्य बन्ने उहाँको दाबी छ।

पर्यटनको क्षेत्रमा मेचीका तीन जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा काम गर्दै आएको मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव कुमार द्यौरालीले सदरमुकामको नजिक रहेर पनि ओझेलमा परेको भालुढुंगाको संरक्षण अनि विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

भालुढंगाबाट जिल्लाका प्राकृतिक तथा धार्मिक पर्यटकीय गन्तव्यहरू माईपोखरी, जसबिरे, पुवाखोला सहित जिल्लाका विभिन्न गाउँको दृश्यावलोकन आँखै अगाडिबाट नियाल्न सकिन्छ। इलाम बजारबाट १ किलोमिटरको दुरीमा पर्ने भालुढुंगा जंगलको बीचमा पर्दछ। यो क्षेत्र इलाम बजारबाट ओपिधारा–इलाम चियाबारी हुँदै पुग्न सकिन्छ। भालुढंगामा प्राकृतिक रुपमा गुफा समेत रहेकाले धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको छ। यतिखेर भालुढुंगाको प्रचारप्रसार बढ्न थालेपछि आन्तरिकका साथै बाह्य पर्यटक पनि त्यहाँ पुग्न थालेका छन्।