प्रहरीको गोलीले एकको मृत्यु, दुई दर्जन बढी घाइते, कफ्र्यु जारी

0
Shares

 

उत्तम नेपाल, भद्रपुर
झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मुत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय नरेश थापा रहेको प्रहरीले जानकारी दिएको छ। थापाको बायाँ पाखुरामा गोली लागेको थियो। प्रहरीसँगको झडपमा परी प्रदर्शनकारीका तर्फबाट ६ जना घाइते भएका छन्।

गोली लागेर गम्भीर घाइते भएका इलाम माई नगरपालिका–१ बस्ने ३५ वर्षीय मणि नेपालीको हाल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते नेपालीको बायाँ पाखुरा र बायाँ कोखमा गोलीले छेडेकाले अवस्था गम्भीर रहेको छ। त्यस्तै प्रदर्शनकारीतर्फ घाइतेमध्ये मेचीनगरका अशोक बस्नेत, अर्जुनधारा–६ का पुण्यप्रसाद लुइँटेल, दुर्गापुरका नवराज कोइराला, र राजगढका सुनील पाठकको उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै घाइते भएका बिर्तामोड नगरपालिका–६ बस्ने ४० वर्षीय देवानन्द राजवंशीको टाउको पछाडिपट्टिको भागमा गहिरो चोट लागेकाले मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। यता दुवै पक्षबीच भएको झडपमा २५ जना प्रहरी घाइते भएको प्रहरी कार्यालय झापाका डीएपसी जितेन्द्र बस्नेतले जानकारी दिए। उनले प्रदर्शनकारीतर्फ ७ जना घाइते भएकोमध्ये थापाको मृत्यु भइसकेको जानकारी दिए।

यसैबीच प्रदर्शनकारीहरूले बिर्तामोडस्थित सडक विभागको यान्त्रिक कार्यालयमा आगजनी गरेका छन्। यस्तै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीको घरभित्र पसेर २ वटा गाडी र एउटा मोटरसाइकल तोडफोड गरेको स्थानीय तीर्थ सिग्देलले जनाएका छन्। उता सशस्त्रका एसपी रमेश सुवेदीको टाउकोमा प्रदर्शनकारीले चलाएको ढुंगाले लागेर घाइते भएका छन्।

प्रदर्शनकारी र प्रहरीबीच झडप जारी भएलगत्तै जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडलगायत आसपासका क्षेत्रमा कर्फ्यु लगाएको छ। प्रशासन कार्यालय झापामा शुक्रबार दिउँसो बसेको सुरक्षा समितिको आकस्मिक बैठकले दिउसो १ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो। सुरक्षा समितिको निर्णय अनुसार मुक्तिचोकदेखि बसपार्कपूर्व, चारपाने चोक पश्चिम, महानन्द चोक उत्तर र बिर्ताबजार दक्षिण क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजु दाहालले जानकारी दिए। ‘अर्को सूचना जारी नभएसम्म बिर्तामोडमा कर्फ्यु जारी रहेनछ।’ –अधिकृत दाहालले बताए। कर्फ्यु जारी भएसँगै बिर्तामोड आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

यसैबीच अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै निकालिएको विरोधमाथि शनिश्चरे रोडमा प्रहरीले शुक्रबार बिहान दमन गरेको थियो। सयौंको संख्यामा बिर्तामोडमा भेला भएका सर्वसाधारणले प्रहरीविरुद्ध चर्का नाराबाजी गर्दै बिर्तामोड बजार परिक्रममा गर्ने क्रममा प्रहरीले दमन गरेपछि घटनाले उग्र रूप लिएको थियो। प्रदर्शनकारी बिर्तामोड बजार बन्द गराउन आएको सूचना पाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न दर्जनौ पटक आश्रुग्यास र फाइरिङ गरेको थियो। प्रदर्शनकारीले सडकमा चल्ने सवारीसाधन तथा पसलसमेत तोडफोड गरेका थिए।