विश्व हिन्दू महासंघद्वारा ज्ञानेन्द्रको समर्थन

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
गएको साता पूर्वराजा ज्ञानेन्द्र शाहले दिनुभएको अभिव्यक्तिलाई विश्व हिन्दू महासंघले स्वागत गरेको छ। विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभिव्यक्तिलाई स्वागत गरेको हो।

गएको साता कात्तिक ४ मा पूर्वराजा शाहले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देशको अभिभावकका रूपमा मुलुकलाई नेतृत्व दिन र जिम्मेवारी लिन तयार रहेको अभिव्यक्ति दिनुभएको थियो। महासंघले उहाँको सो अभिव्यक्तिलाई समय सान्दर्भिक, राजनीतिक स्थिति अनुकूल तथा स्वागतयोग्य भनेको छ। महासंघले यस कार्यक्रममार्फत सम्पूर्ण राष्ट्रवादी देशभक्त शक्तिहरूलाई राष्ट्रिय एकताका लागि एक जुट हुन आह्वानसमेत गरेको छ।

महासंघका अध्यक्ष भरतकेशर सिंहले देश लथालिंग अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै विखण्डन हुनबाट राष्ट्रलाई बचाउन सबैलाई आह्वान गर्नुभयो। मुलुक नेतृत्वविहीन हुँदै गइरहेको आभास जनतामा बढ्दै आएको, राजनीतिक विचलन, अन्योलता, भ्रष्टाचार, हत्या, हिंसा, अराजकता, राजनैतिक खिचातानी र धर्म संस्कृति, परम्परा, मूल्य र मान्यतालाई समाप्त पार्दै नेपालको मौलिक पहिचान नै नामेट गरी राष्ट्रिय स्वाधीनता खतरामा परेको महासंघले जनाएको छ।