फनपार्कभित्र गैरकानुनी रूपमा जुवा खेलाइँदै

0
Shares

सुरेश तामाङ, काठमाडौं

भृकुटीमण्डपको हाताभित्र रहेको फनपार्कमा सम्झौताविपरीत गैरकानुनी रूपमा जुवा (ज्याकपोर्ट) खेलाउने गरेको पाइएको छ। फनपार्कभित्र जुवा (ज्याकपोर्ट) खेल निर्वाध सञ्चालनमा रहेको समाज कल्याण परिषद् स्रोतले जनाएको छ।

कलिला बालबालिकाका लागि मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन हुने संवेदनशील स्थान फनपार्कभित्र ग्याङफाइटको कला सिकाउने प्रकृतिको खेलसमेत खेलाइरहेको पाइएको छ। यस्ता गैरकानुनी क्रियाकलापले गर्दा बालबालिकालाई नकारात्मक असर पर्ने बाल मनोविद्हरूको भनाइ रहेको छ। मनोविमर्शकर्ता डा. सन्दीप बस्नेतले जुवा प्रकृतिको खेलमा बालबालिकाले खेलको माध्यमबाट मनोरञ्जन लिने कार्य गरे पनि लत बस्दै कालान्तरमा आपराधिक क्रियाकलापमा रूपान्तरण हुने भएकाले अभिभावकसमेत यस्ता विषयमा चनाखो रहनुपर्ने बताउनुभयो।

फनपार्कसँग समाज कल्याण परिषद्ले १५ वर्षसम्मका लागि गरेको सम्झौताको ९ नम्बर बुँदामा द्वितीयपक्ष (फनपार्क सञ्चालक) ले कानुनले निषेधित कार्य गर्न ⁄ गराउन पाइने छैन। मेला क्षेत्रभित्र जुवा खेल्ने, खेलाउने र यस्तै प्रकृतिका खेल⁄स्टल राख्न पाइने छैन भनी उल्लेख गरिएको छ।

तर फनपार्कभित्र खुलमखुलारूपमा यस्ता प्रकृतिका खेल खेलाउँदा पनि कारबाही गर्नुको सट्टा सम्बन्धित नियमक निकाय मौन छ। परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्टसँग जिज्ञासा राख्दा उहाँले यस विषयमा बुझेर बताउने जानकारी दिनुभयो।

२०६९ असोज १ मा भएको उक्त सम्झौतामा परिषद्का तर्फबाट तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार यादव र पार्क सञ्चालकका तर्फबाट पूर्वराज्यमन्त्री तथा सांसद टेकबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको थियो।

सम्झौताका बारेमा उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले ३ वर्षअघि स्थलगत अनुगमन, निरीक्षण गरी परिषद्, मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन बुझाएको थियो।

केन्द्रले अनुगमन गर्दा पनि फनपार्कक्षेत्रभित्र सम्झौतामा उल्लेख गरिएभन्दा फरक प्रकृतिका जुवा जस्तो खेल र ग्याङफाइटजस्ता कला सिकाउने प्रकृतिको खेलसमेत सञ्चालन भएको भेटिएको प्रतिवेदनमा उल्लेख छ।