अक्टोबर क्रान्तिको शतवार्षिकी, सबै वाम एकै थलोमा

0
Shares

 

नेपाल समाचारपत्र
दाङ
दाङका विभिन्न वामपंथी दल र वाम बुद्धिजीवी एकैथलोमा जम्मा भएर आगामी समाजवादी आन्दोलनको चर्चा गरेका छन्। लेनिनको अगुवाइमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भएको १ सय वर्ष पुगेको अवसरमा अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउन उनीहरू १ ठाउँमा भेला भएका हुन्।

चुनाव उपयोग गरेर नै अगाडि बढ्न सकिन्छ भन्ने राजनीतिक कार्यदिशा बोकेकादेखि चुनाव बहिष्कारमार्फत् अगाडि बढेका वाम दलका नेताहरू एकै ठाउँमा बसेर आगामी समाजवादी आन्दोलनबारे बहस गरेका हुन्। दाङमा कम्युनिस्ट पार्टी स्थापना गर्नेदेखि अहिले दल हाँकिरहेका र राजनीतिमा भर्खरै प्रवेश गरेका गरी तीन पुस्ताका नेता कार्यकर्ता र वाम बुद्धिजीवीले यो बहसमा भाग लिएका हुन्। उनीहरूले अहिलेसम्मको राज्यव्यवस्थामा समाजवाद नै उत्कृष्ट भएको औल्याउँदै नयाँ पुस्तालाई समाजवाद र साम्यवादतर्फ आकर्षित गर्न निरन्तर प्रशिक्षण दिनुपर्नेमा जोड दिए।

वाम सहकार्यका लागि साझा मञ्च दाङको आयोजनामा भएको कार्यक्रममा दलका नेताले समाजवादसम्म पुग्ने आ–आफ्ना धारणा अगाडि सारेका थिए भने वाम बुद्धिजीवीले साझा धारणा बनाएर अघि बढ्न सुझाएका थिए। अवधारणापत्र प्रस्तुत गर्दै प्रमोद धितालले नेपाली कम्युनिस्ट आन्दोलनलाई विचारधारात्मक बहसमार्फत् अगाडि बढाउनुपर्ने बताउनुभयो। सबै कम्युनिस्ट दलको नेतृत्त्वमा सांस्कृतिक रूपान्तरणको सवाल कमजोर रहेको पनि उहाँले औल्याउनुभयो।

अवधारणापत्रमा टिप्पणी गर्दै बुद्धिजीवी शशिधर भण्डारीले लडाइँको मैदानमा कम्युनिस्ट विजयी भएको भन्दै सांस्कृतिक क्रान्तिमा जोड दिनुभयो। अर्का बुद्धिजीवी सर्जन गौतमले विश्वका साम्राज्यवादी शक्ति संकटग्रस्त अवस्थामा रहे पनि नेपाली कम्युनिस्ट आन्दोलनले सही दिशा नलिँदा समाजवादसम्म पुग्न ढिलाइ भएको बताउनुभयो।

नेकपा एमाले, दाङका अध्यक्ष टीकाराम खड्काले ६० प्रतिशत जनमत रहेकाले यसलाई जनताको पक्षमा परिचालन गरेर एकताबद्ध प्रयासद्वारा अगाडि बढ्नुपर्नेमा जोड दिंदै अहिलेको वाम एकताले सार्थकता पाए १५ वर्षभित्र नेपालमा समाजवादी अर्थतन्त्र लागू गर्न सकिने बताउनुभयो। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य निर्मल आचार्यले नेपाली सन्दर्भको समाजवादको बाटो खोज्नुपर्ने औल्याउँदै कम्तीमा समाजवाद मान्ने वाम शक्ति एक ठाउँमा आउनुपर्ने बताउनुभयो।

नेकपा मसाल, दाङका प्रवक्ता भरत भण्डारीले नयाँ पुस्तालाई अक्टोबर क्रान्तिको महत्त्व बुझाउनुपर्नेमा जोड दिंदै आफ्नो पार्टीले एक वर्षदेखि शतवार्षिकी मनाउँदै आएको बताउनुभयो। नेकपाका जिल्ला सेक्रेटरी सविन पोख्रेलले नेपालमा नेपाली सन्दर्भको अक्टोबर क्रान्ति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि आफ्नो पार्टी तयार रहेको बताउनुभयो। नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणि दुःखीले समाजवादभन्दा अघि सम्पन्न गर्नुपर्ने नेपालमा जनवादी क्रान्तिको चरण नै बाँकी रहेको उल्लेख गर्दै कम्युनिस्ट पार्टीबीचका शत्रुतापूर्ण व्यवहार रोकिनुपर्नेमा जोड दिनुभयो।